
मुम्बई : अन्तिम ओभरमा मोहित शर्माले उत्कृष्ट बलिङ गरेपछि आइपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले ७ रनको हार व्यहोरेको छ। २३१ रनको लक्ष्य पछ्याएको मुम्बईलाई किंग्स इलाभेन पञ्जावले २२३ रनमा समेटेको हो। रोमाञ्चक खेलमा शर्माले अन्तिम तीन बलमा ९ रन चाहिएको अवस्थामा दुई डट बल फ्याकेका थिए।
मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले आक्रमक सुरुवात गरेको थियो। पावर प्लेको अन्तिम तीन बल बाँकी रहेको अवस्थामा पञ्जावले पहिलो विकेट गुमाएको थियो। पञ्जावलाई ओपनर मार्टिन गुप्टिल र ऋदिमान साहले आक्रमक सुरुवात दिलाएका थिए। पञ्जावको इनिङमा साहले नटआउट ९३ रनको योगदान दिए। यस्तै, गुप्टिलले ३६ र कप्तान ग्लेन म्याक्सवेलले ४७ रनको योगदान दिए।
मुम्बइले पनि आक्रमक ओपनिङ गरेको थियो। लेन्डन सिमोन्स र पार्थिव पटेलले मुम्बईलाई आक्रमक सुरुवात दिलाए। दुबैले पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे। मुम्बईको इनिङमा सिमोन्सले ५९ र पटेलले ३८ रनको योगदान दिए। पटेल र सिमोन्सबाहेकका मध्यक्रमका ब्याट्सम्यानले मुम्बईका लागि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। किरोन पोलार्ड र हार्दिक पाण्डेयले खेललाई जिततर्फ उन्मुख गराए पनि पर्याप्त हुन् सकेन।
बलिङतर्फ पञ्जावका मोहित शर्माले दुई विकेट लिए। यस्तै, मुम्बईका करण शर्मा र जसप्रित बुमराहले एक/एक विकेट लिए।