
संयुक्त राष्ट्रसंघः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई आह्वान गरेको छ ।
राजनीतिक द्वन्द्वले चरम अस्थिरता निम्त्याउन सक्ने राष्ट्रिय खतरालाई रोक्न बिसाउमा अधिकतम राजनीतिक समर्थन प्राप्त गर्ने प्रधानमन्त्रीको नियुक्तिको अभाव खट्किरहेको चर्चा भैरहेका बेला सुरक्षा परिषद्ले सर्वदलीय प्रधानमन्त्री चयन गर्न आह्वान गरेको हो।
राष्ट्रिय समस्या समाधान गर्न गिनि बिसाउका राजनीतिक दलको बेवास्ता र उदासीनतालाई दृष्टिगत गरी त्यहाँको राजनीतिक सङ्कटप्रति गहिरो चासो राख्दै १५ सदस्यीय सुरक्षा परिषदले उक्त प्रस्ताव पारित गरेको हो ।
गिनि बिसाउमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पूर्वहस्ताक्षरित ‘कोनाक्राइ सम्झौता’ को निष्ठापूर्वक पालना गर्न र सम्झौतामा उल्लेखित प्राबधान अनुसार अतिशीघ्र नै उक्त सम्झौताप्रति आस्थावान् प्रधानमन्त्री नियुक्त गर्न आह्वान गरिएको राष्ट्र संघीय सुरक्षा परिषद्द्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।
गिनी बिसाउमा एक वर्षदेखि चलिरहेको राजनीतिक द्वन्द तथा अस्थिरता र अशान्तिका कारण लागूपदार्थको तस्करी तथा चरम हिंसात्मक अतिबादले मौलाउने राम्रो अवसर पाइरहेकोसमेत विज्ञप्तिमा जनाइएको छ ।
गिनी बिसाउको वर्तमान राजनीतिक स्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै त्यहाँको सङ्कटलाई थप बढ्न नदिनु र शान्तिपूर्ण समाधान गर्न सहयोग गर्नु सुरक्षा परिषदको पनि दायित्व रहेको उल्लेख गरिएको छ। रासस/सिन्ह्वा