PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगन्जमा लोडसेडिङ बढ्यो, दैनिक ४ बाट ८ घण्टा पुग्नुमा यस्ता छन् कारण



राधेश्याम पटेल

वीरगन्जमा लोडसेडिङ बढ्यो, दैनिक ४ बाट ८ घण्टा पुग्नुमा यस्ता छन् कारण

वीरगन्ज : केही सातादेखि वीरगन्ज आसपासमा पुनः लोडसेडिङ बढ्न थालेको छ। औद्योगिक फिडरमा दैनिक ८/१० घण्टा र ग्रामीण फिडरमा ४ घण्टा लोडसेडिङ हुन थालेको पर्सा–बाराका उपभोक्ताहरुले गुनासो गरेका छन्।

एक महिना अघिसम्म ग्रामीण भेगमा लोडसेडिङ हटेको थियो। औद्योगिक क्षेत्रमा हुने दैनिक १३ घन्टे लोडसेडिङ ४ घण्टामा झरेको थियो। तर, पुनः नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्जबाट प्रवाह हुने विद्युत सेवा अनियमित हुन थालेको हो। 

वीरगन्जलाई लोडसेडिङ मुक्त गर्न सञ्चालनमा आउन लागेको रक्सौल–परवानीपुर प्रसारण लाइन माथिलो निकायमा समन्वय र विद्युत खरिद दरमा सहमति नहुँदा हालसम्म सञ्चालनमा आएको छैन। प्रसारण लाइनको समस्या सुल्झन नसकेपछि वीरगन्ज आसपासका विद्युत उपभोक्ताहरुको समस्या नहटेको हो। 

विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्ज शाखाका प्रमुख चुटुनकुमार श्रीवास्तले गर्मीमा विद्युत माग बढेकाले लोडसेडिङ् बढेको बताए। श्रीवास्तवले मागसँगै जनचेतनाको अभावमा विद्युत चोरीका घटना पनि पुनः बढेको बताए। 

गर्मी बढेसँगै सेवाग्राहीहरुको विद्युत माग बढेकोले आपूर्ति सन्तुलन गर्न कर्मचारीलाई समस्या भइरहेको उनको विश्लेषण छ। उनले पिक आवरमा (विहान ६ देखि १० बजे र साँझ ५ देखि १० बजेसम्म) आपूर्ति व्यवस्थपन माग अनुसार गर्न नसकेको बताए। पिक आवरमा सबैले मोटरबाट पानी तान्ने, टिभी, फ्रिज, एसी, र राइसकुकर जस्ता उपकरणको प्रयोग गर्ने भएकाले आपूर्तिमा असहजता नभएको बताए। 

पिक आवरमा उपभोक्ताहरुले विद्युत खपत घटाउन सके लोडसेडिङ समस्याबाट केही राहत मिल्न सक्ने श्रीवास्तवको भनाई छ। सुरक्षाकर्मी चुनाव केन्द्रीत भएकाले चुहावट नियन्त्रण अभियान पनि सक्रिय हुन नसकेको उनले बताए।

वीरगन्जमा वितरण केन्द्रमार्फत ६२ हजार ८ सय विद्युत उपभोक्ताहरुलाई विद्युत सेवा प्रवाह भइरहेको छ। हाल औद्योगिक करिडोरमा ९ र ग्रामीणमा ११ वटा फिडर सञ्चालनमा छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell