
- केदार मगर
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल नौ वर्षपछि निर्माण कार्य सम्पन्न हुन लागेको हो।
पुलको मुख्य लट्ठा राख्ने काम सकिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याइसकिएकाले असार मसान्तभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको आयोजना प्रमुख इन्जिनियर उद्वव रानामगरले जानकारी दिए। रानामगरले पुल नमुना भएकै कारण सबै सामग्री र इन्जिनियर बाहिरबाट ल्याउनुपर्दा निर्माणमा ढिलाइ भएको बताए।
निर्माणाधीन पक्की पुल जडानका लागि चीनबाट इन्जिनियर र सामग्री ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ। दुवैपट्टि बिजुली बत्ती राखिने पुलमा स्टिल ट्रस बिच्छ्याउन सुरु गरिएको छ। पुलमा झोलुङगे पुलको जस्तो लठ्ठाले पुलको भार थाम्नु र दुवैतर्फ बत्तीले झलमल्ल पार्नु नै यसको विशेषता रहेको छ।
पुल निर्माण सम्पन्न भएपछि जिल्लाको समृद्धिको ढोका खुल्ने खोटाङ क्षेत्र नं १ बाट निर्वाचित सांसद् पाँचकर्ण राईले बताए।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेर हुलास कालिका कन्स्ट्रक्सन जेभीले पुल निर्माणको जिम्मा लिएको थियो। तर विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलाइ गरेको थियो ।रासस