PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री पुत्रले समेत बुझाएनन् हतियार : लाइसेन्स लिने १३ हजार, फिर्ता बुझाइयो ७८ वटामात्रै



सविन ढकाल

प्रधानमन्त्री पुत्रले समेत बुझाएनन् हतियार : लाइसेन्स लिने १३ हजार, फिर्ता बुझाइयो ७८ वटामात्रै

काठमाडौँ : निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले लाइसेन्स भएका हतियार बुझाउन दिएको निर्देशन अटेर गरेको पाइएको छ।

गृह मन्त्रालयले महिना दिन अगाडि नै लाइसेन्स भएका हतियार बुझाउन सूचना जारी गरेको थियो।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले १३ हजार ३ सय २२ जनालाई हतियार राख्न अनुमति दिएको भए पनि शुक्रबारसम्म ७८ वटा हतियार मात्र बुझाइएको छ।

महानगरीय प्रहरी प्ररिसर, काठमाडौँमा ७४ वटा र जिल्ला प्रशासन कार्यालयमा ४ वटा हतियार बुझाइएको हो। 

परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले अहिलेसम्म काठमाडौंका विभिन्न वृत्तहरुमा ७४ वटा हतियार बुझाइएको जानकारी दिए। एसपी कार्कीले भने, 'अहिलेसम्म रिभल्भर, हर्नेट, भरुवा बन्दुक, १२ र २२ बोरका गरेर ७४ वटा हतियार फिर्ता आएका छन्।'

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ प्रेमप्रसाद लुइँटेलले इजाजतप्राप्त हतियारको कारण निर्वाचनको शान्ति सुरक्षा व्यवस्था नखल्बलियोस् भनेर निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयको परिपत्रपछि हतियार फिर्ता मागेपनि कम सङ्ख्यामा फिर्ता आएको बताए ।

देशभर कति लाइसेन्स प्राप्त हतियार छन्?
गृह मन्त्रालयको तथ्याङ्क अनुसार देशभर करिब ३५ हजार हतियारको लागि प्रशासनबाट स्वीकृति लिएको देखिन्छ। तथ्याङ्क अनुसार  पेस्तोल ३१२ वटा, रिभल्वर ११७ वटा, १२ बोरको बन्दुक १३ हजार ८९२ वटा, २२ बोरको बन्दुक ४ हजार ६६१ वटा, भरुवा बन्दुक १२ हजार ९१ वटा, हावादारी बन्दुक १ हजार १० वटा र अन्य २ हजार २३१ वटा हतियार दर्ता भएका छन्। सबैभन्दा बढी काठमाडौं जिल्लाबाट हतियार राख्न अनुमति लिइएको छ।

प्रधानमन्त्रीपुत्रले पनि बुझाएका छैनन् बन्दुक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालले पनि आफ्नो हतियार बुझाएको अभिलेख भेटिएको छैन। 

उनले २२ बोरको बन्दूकका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा लाइसेन्स लिएका थिए। तर काठमाडौँमा फिर्ता भएका ७४ वटा हतियारमा उनको बन्दूक छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell