
काठमाडौं: नेपथ्यले तयार पारेको नयाँ गीत ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’को भिडियो सार्वजनिक भएको छ। राजनीतिमा जात र क्षेत्रको कुरा उठेसँगै समाजमा विभाजनको घेरा चर्किँदो छ। यस्तै विभाजन विरुद्ध व्यङ्ग्य र एकताको महत्वको सन्देश बोकेको गीतको भिडियो ब्याण्डले अफिसियल च्यानल मार्फत सार्वजनिक गरेको हो।
भिडियोमा ‘डबल एक्सपोजर इफेक्ट’ प्रविधि प्रयोग गरेको नेपालयले जनाएको छ। यस्तो प्रविधिमा एकसाथ दुईवटा दृश्य बगिरहेको हुन्छ। गीतमा ब्याण्डले प्रत्यक्ष प्रस्तुत गर्दाको दृश्य कालो छायाँका रुपमा बगिरहेको छ भने त्यस छाँया भित्र अर्को उज्यालो दृश्य पनि सँगसँगै देखापर्छ। शशांक श्रेष्ठ र उनको टिमले यो म्यूजिक भिडियो तयार पारेको हो। प्रयोग गरिएको भिजुअल इफेक्ट इशान श्रेष्ठ र संजय प्रजापतिको संयुक्त प्रयासमा तयार भएको हो ।
रकी प्रजापति र किरित राजभण्डारीले यसको छायांकन गरेका छन्। देशमा आपसी सद्भाव र शान्ति क़ायम गर्नु चूनौती बनेको समयमा नेपथ्यले एकताको सन्देश बोकेको 'तिमी पनि नेपाली म पनि नेपाली' गीत ल्याएको थियो। गीतमा शब्द रविन्द्र मिश्रको रहेको छ भने संगीत नेपथ्यकै रहेको छ।
‘नेपथ्यलाई विशाल श्रोता दर्शकको घेराले जुन रुपमा मनपराउन प्रारम्भ गरे, लोकभाकामा आधारित त्यस्ता गीतहरुको श्रृंखला पनि जारी नै रहनेछ,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङ गीत बारे भन्छन्, ‘नेपाली–नेपाली बीच एकताको सन्देश अघि बढाउन संगीत महत्वपूर्ण माध्यम बन्न सक्ने भएकाले हामी त्यही पथमा अग्रसर छौं।’
नेपथ्यले यो वर्षभरि आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणासँगै हरेक महिना एउटा भिडियो सार्वजनिक गर्ने भएको छ। ’यो मे महिनाको कोसेली हो,’ अमृत भन्छन्, ’जुनमा अर्को उपहार लिएर प्रस्तुत हुनेछौं।’ २५ वर्षे उत्सवकै क्रममा व्याण्डले यसैपाला आफ्नो दसौं अल्बम सार्वजनिक गर्ने घोषणासमेत गरिसकेको अमृत बताउँछन्।
त्यसका गीतहरु मध्येकै ’कोशीको पानी’, ’रामारामा’ र ’शिरफूल’ पछि ‘हामी नेपाली’ म्यूजिक भिडियो बन्न सफल चौथो गीत बन्न पुगेको छ।