
काठमाडौंः भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गरिन्।
उनको समस्यामा कल सेन्टरकी कम्प्युटर अपरेटर भावना बेल्वासले पुरानो परिचयपत्रबाट मतदान गर्न नपाइने भन्दै परिचयपत्र खुल्ने नागरिकता लिएर मतदानमा जान अनुरोध गरिन्।
काठमाडौंकी नर्मदा बस्नेतले निर्वाचनको समयमा गाडी चल्छ कि चल्दैन भनेर कल सेन्टरमा सोधिन्। यस्तै सरिता र नर्मदा जस्तै अहिले कल सेन्टरको १६६००१४४२२२ नम्बरमा टेलिफोन गरी मतदाताले निर्वाचन सम्बन्धी जिज्ञासा राख्ने गरेका छन्।
मतदाताले कल सेन्टरमा आफ्नो परिचयपत्र नभएको, मतदाता नामावलीमा नाम छुटेको, परिचयपत्र कहाँ पाइन्छ, मतदान गर्ने प्रक्रियालगायत समस्याबारे सोध्ने गरेका कल सेन्टरका संयोजक विशकसेन ढकालले जानकारी दिए। उनका अनुसार अहिले दैनिक करिब तीन सय जनाले निर्वाचनसम्बन्धी जिज्ञासा राख्ने गरेका छन्।
बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म छजना अपरेटरले मतदाताले राखेका समस्याको जवाफ दिने गरेका छन्। मतदाताका समस्याको समाधान अपरेटरले तुरुन्त गर्न नसकेको अवस्थामा मतदातालाई फोनमार्फत जवाफ दिने गर्ने गरेका संयोजक ढकालले बताए। उनका अनुसार सबभन्दा बढी मतदान गर्ने प्रक्रिया र मतदाता नामावलीका सम्बन्धमा मतदाताले जिज्ञासा राख्ने गरेका छन्।
वैशाख १५ गतेबाट सञ्चालन भएको कल सेन्टरमा अहिलेसम्म करिब दुई हजार चार सय भन्दा बढी व्यक्तिले निर्वाचनसम्बन्धी जिज्ञासा राखेका छन्। ढकालले कल सेन्टर सुरु भएको एक हप्तासम्म निर्वाचन हुन्छ कि हुँदैन भनेर बढी सोध्ने गरेका छन्।
पछिल्ला केही दिनमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको, सवारी साधनको पास पाइन्छ कि पाइँदैन भनेर फोन आउन थालेका छन् ।
अहिलेसम्म सर्वसाधारणले कल सेन्टरमा मतदाता शिक्षा ६३६, मतदाता नामावली ६५९, निर्वाचन प्रक्रिया ८४, आचारसंहिताका ६२, वेबसाइटका १८, सुरक्षासम्बन्धी पाँच र अन्य ३७७ वटा समस्याका राखेको ढकालले जानकारी दिए।रासस