PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोनोरेलको कुरा सुनेरै आतंकित छन् डोजरले तर्साएका सुकुम्बासी



आकाश क्षेत्री

मोनोरेलको कुरा सुनेरै आतंकित छन् डोजरले तर्साएका सुकुम्बासी

काठमाडौँ :  जागृतिनगर, भीमसेनगोलास्थित वागमति नदी किनाराको सुकुम्बासी टोलकी ५५ वर्षकी सुविना रार्इ काठमाडौँमा रेल आउँदैछ भन्ने खबर सुनेदेखि चिन्तित छिन्। केही दिन अगाडि मात्र उनलार्इ टोलकी एक जना साथीले काठमाडौंमा रेल आउँदैछ भन्ने खबर सुनाइन्। त्यो दिनदेखि उनलार्इ राम्रोसँग निन्द्रा पनि लागेको छैन। 

‘रेल आउनु त राम्रो कुरा हो नि, तपार्इलार्इ किन निन्द्रा नलागेको?’

‘रेल आयो भने शहर बनाउने भन्दै हाम्रो बस्तिमा फेरि डोजर लगाउँछन्,’ उनले आफ्नो चिन्ता पोखिन्। 

काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवारहरुले बाँडेका सपनामध्ये एक हो मेट्रो र मोनोरेल। उनीहरुले बाँडेको त्यही सपनाको खबर उनलाई उनकी छिमेकी साथीको नम्रताले सुनाइन् जसले विपनमामा उनलाई बाँच्न गाह्रो बनाइदियो। नम्रता घर बनाउने ठाउँमा इँट्टा, बालुवा बोक्ने काम गर्छिन्।  

स्थानीय निर्वाचनको दिन नजिकिँदै गर्दा हामी सुकुम्बासी बस्तीमा चुनावी चहलपहल बुझ्न गएका थियौं। हामीले सोचेका थियौँ, सुकुम्बासी बस्तीमा चुनावको खासै असर नहोला। तर, त्यहाँ त उम्मेद्वारका एजेन्डाहरुले आतंक मच्चाएको पो रहेछ। 

सुविना रार्इको पहिले एउटा सानो चिया पसल थियो। आजकाल घरमा बस्छिन् मात्र। केही समयपछि फेरि चिया पसल चलाउने सोच छ। 
वागमति किनारमा बसोबास गर्ने सुकुम्बासीका झुपडीमा सरकारले कयौँ पटक चलाइसकेको छ। उनीहरुलाई त्यहाँबाट पटक-पटक हटाउने कोशिश भएको छ, तर उनीहरु हटेका छैनन्। 

राम अधिकारी त्यही सुकुम्बासी बस्तीमा बसोबास गर्छन् जसले ज्यामीको काम गर्छन्। हामी सुकुम्बासी बस्तीमा पुग्दा उनी घरमै भेटिए। खुट्टामा चोट लागेका कारण दुर्इ दिनदेखि घरमै रहेछन्।  

रुपन्देही जन्मेका रामले नागरिकता काठमाडौंबाट बनाएका छन्। सानै उमेरदेखि काठमाडौंमा बसेका कारण उनले नागरिकता पाए। नागरिकता पाए पनि भोट हाल्नका लागि चाहिने मतदाता परिचय पत्र उनले लिएका छैनन्। भन्छन्, ‘भोट हालेर पनि के हुन्छ र खै, आफ्नै बस्ने टुङ्गो छैन।’

अधिकारीका अनुसार केही सुकुम्बासीहरुको नागरिकता काठमाडौंबाटै बनेको छ। उनीहरुले मतदान गर्न पनि पाउँछन्। त्यसैले केही दिन अगाडि उम्मेद्वारहरु चुनावी प्रचारप्रसारको लागि सुकुम्बासी बस्ती आएको उनी सुनाउँछन्। 

सुकुम्बासी बस्तीका केही झुपडीमा राजनीतिक पार्टीका झन्डा पनि फहराइरहेको थियो। त्यही मध्ये एक झुपडीमा गएर सोध्दा घरका मुली रमेश गिरी काममा गएका रहेछन्। घरमा उनकी श्रीमती भेटिइन्। श्रीमान श्रीमती दुवैको नागरिकता झापाबाट बनेको रहेछ। एमालेको जुलुसमा  गएका कारण रमेशले झन्डा ल्याएर झुपडीमा राखेका रहेछन्। 

सुकुम्बासी बस्तीको बीचमा एउटा इनार छ। त्यही इनारको पानी बस्तीका मानिसले सफा नगरेरै पिउँछन्। बाटो हिलाम्मे छ जहाँ बालबालिकाहरु खेल्छन्। त्यही बाटोमा तीन वर्षमा रेल कुद्ने सपना देखाउँदै मेयर उम्मेदवारहरु भोट मागिरहेका छन्। अलि बुझेकाले त तीन वर्षमा डिपिआरसमेत हुँदैन भनेर उडाएका छन्, तर सुकुम्बासी बस्तीका बासिन्दालाई भने यही रेलको सपनाले सुत्न दिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell