काठमाडौंः काठमाडौँ उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने भएको छ।
काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने सम्झौता भएको छ । समुदायकातर्फबाट काष्ठमण्डप पुनःनिर्माण अभियानले काठमाडौंको नामकरण भएको ऐतिहासिकस्थलको पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्नेछ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्राधिकरण, विभाग, कामपा र अभियानकाबीचमा दुई वर्षमा निर्माण गरिने १५ बुँदे महत्वाकाङ्क्षी सम्झौता गरिएको हो।
समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यामलाल भुसाल, विभागका महानिर्देशक भेषनारायण दाहाल, कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रिपरिषद्मै निर्णय भइसकेको जानकारी दिए।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले काष्ठमण्डप सार्वजनिक तथा निजी साझेदारी अवधारणानुसार पुनःनिर्माण हुन लागेकाले अन्यत्र पनि यस्तै गर्न सके पुनःनिर्माणले तीव्रता पाउने बताए।
समझदारीपत्र कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा चारै पक्षबीच आपसी समझदारीका आधारमा विवादको समाधान गरिने तर, समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट गरिने निर्णय अन्तिम हुने सम्झौतामा उल्लेख छ।रासस