PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सर्वोच्चले भन्यो–स्मार्ट लाइसेन्स छाप्दा व्यक्तिगत विवरण विदेशीको हातमा नपुगोस्



रासस

सर्वोच्चले भन्यो–स्मार्ट लाइसेन्स छाप्दा व्यक्तिगत विवरण विदेशीको हातमा नपुगोस्

काठमाडौंः सर्वोच्च अदालतले चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ। 

न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिंदै इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशीको हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। 

आदेशमा नेपाली नागरिकको चालक इजाजतपत्रलाई डिजिटलाइज्ड गराउँदा नेपाली नागरिकको तथ्याङ्क विदेशी कम्पनीको हातमा जाने र नेपालीको सुरक्षा संवेदनशीलता समेत असर पर्ने भएकाले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिन भनिएको छ। 
आदेशमा इजाजतपत्र छाप्दा नेपालभित्र नेपाल सरकारको नियन्त्रणमा नागरिकको तथ्याङ्क सञ्चय हुने र विदेशीका हातमा नजाने व्यवस्था मिलाउन भनिएको छ। 

सरकारले भारतीय कम्पनीलाई स्मार्ट लाइसेन्स बनाउन दिने भनी गरेको निर्णयका विरोधमा अधिवक्ता भक्तिराम घिमिरेले त्यसो गर्दा नेपाली नागरिकको तथ्याङ्क चुहिने जिकिर गर्दै रिट निवेदन दायर गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell