PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौँका १५ निर्वाचन केन्द्र अति संवेदनशील, यस्तो छ सुरक्षा तयारी



सविन ढकाल

काठमाडौँका १५ निर्वाचन केन्द्र अति संवेदनशील, यस्तो छ सुरक्षा तयारी

काठमाडौँ : विभिन्न जिल्लामा फाटफुट झडप र तर्साउन विस्फोटक पदार्थ राखिएका घटना सार्वजनिक हुँदै गर्दा भोलि हुन लागेको पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ। 

३४ जिल्लामा हुने पहिलो चरणको निर्वाचनको लागि सेनाबाहेक ६६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन नै प्रभावित हुने गरी कुनै पनि समूहले शान्ति सुरक्षा भंग गर्न नसक्ने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता बालकृष्ण पन्थीले बताए। 

उनले भने, 'कुनै समूह वा व्यक्तिले लुकिछिपी ढुङगा हान्ने कार्यसम्म गर्न सक्लान् तर निर्वाचन नै बिथोल्ने गतिविधि गर्नसक्ने हिम्मत राख्दैनन्।' 
निर्वाचनको लागि तीन घेरामा सुरक्षा योजना बनाइएको छ। मतदान क्षेत्रको पहिलो घेरामा नेपाल प्रहरीका निरीक्षक हतियारसहित र म्यादी प्रहरी खटाइएको छ। 

त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिममा नेपाली सेना रहेको छ। नेपाली सेनालाई मतदानमा मनोवैज्ञानिक सुरक्षा र मतपत्र लगायत सामाग्रीको ओसारपसारको लागि मात्र खटाइएको हो। 

संवेदनशील एक मतदान केन्द्रमा करिब ३० प्रहरी सुरक्षार्थ खटिने छन्। सुरक्षाको हिसाबले सामान्य केन्द्रमा करिब १५ देखि २० प्रहरी परिचालन गरिएका छन्। 

पहिलो चरणको निर्वाचनमा २३ हजार प्रहरी, २५ हजार म्यादी, १८ हजार सशस्त्र र देशभर ४५ हजार सेना पहिलो चरणको निर्वाचनमा परिचालित गरेको पन्थीले बताए। 

उनले भने, 'विभिन्न मापदण्ड बनाएर संवेदनशील, अति संवेदनशील र सामान्य क्षेत्र छुट्याएर सुरक्षाको प्रवन्ध मिलाएका हौं।' 

नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन सुरक्षा बिथोल्ने आशंकामा कार्यकर्ताहरुमाथि निगरानी बढाइएको छ। केही दिनदेखि विप्लव समूहले विभिन्न स्थानमा अवाञ्छित गतिविधि गर्दै आएको छ। यस्ता गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रण गर्न विशेष टोली परिचालन भइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए। 

उनले भने, ‘सबै समूहको निगरानी राखेर सुरक्षा व्यवस्थाको तयारी गरिएको छ।' विप्लव समूहसँग माओवादीका पूर्व लडाकुसमेत रहेकाले सुरक्षामा थप चुनौति भएको हो।

उपत्यकाभित्र १५ अति संवेदनशील निर्वाचन केन्द्र 

काठमाडौं उपत्यकाको स्थानीय तह निर्वाचनमा प्रहरीले १५ निर्वाचन केन्द्रलाई अति संवेदनशिल क्षेत्र बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ।
उपत्यकाभित्रका तीन जिल्ला मध्ये पहाडी र दुर्गम मानिने ठाउँका निर्वाचन केन्द्रहरु अति संवेदनशीलमा राखिएको छ। यस्ता अति संवेदनशील केन्द्रमा २० देखि २५ को संख्यामा नेपाल प्रहरी र सोही सङ्ख्यामा सशस्त्र र सेना परिचालन गरिएको छ। 

यस्तो अति संवेदनशील क्षेत्रमा आवश्यक परेको खण्डमा कानुनले दिएको अधिकारमा टेकेर प्रहरीले गोलीसमेत चलाउन सक्ने महानगरीय आयुक्त प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी बमबहादुर भण्डारीले बताए।

उपत्यकाभित्र सुरक्षाका लागि ११ हजार नेपाल प्रहरी, चार हजार म्यादी, चार हजार सशस्त्र र करिब नौ हजार सेना र सुरक्षाकर्मी परिचालित भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell