काठमाडौँ : वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई एमाले निकट कार्यकर्ताले मुस्ताङमा शनिबार राति दुर्व्यवहार गरेका छन् । गौचन कार्यकर्ता भेट्न मुस्ताङको दालोमे गाउँपालिका तेताङ गाउँमा पुगेका थिए।
राति १२ बजे मन्त्रीले भोटको लागि पैसा बाँड्दै हिडेको भनेर स्थानीयको घरमा एमाले कार्यकर्ताले घेराबन्दी गरेर राखेका हुन्। मन्त्री थकालीलाई घेराबन्दी गरेर राखेको खबर पाएपछि जिल्ला प्रहरी कार्यलय मुस्ताङको टोलीले शनिबार साढे ४ बजे घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी हरिहर योगीले जानकारी दिए।
पहिलोपोस्टसँगको कुराकानीमा योगीले भने ‘उहाँलाई घरमा घेराबन्दी गरिएको अवस्थामा हामीले उद्धार गरेर प्रशासनलाई बुझाएका हौँ।’
मन्त्री थकालीको घटनाको बिषयलाई लिएर अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरुको बैठक बसिरहेको छ। आइतबार हुने निर्वाचनमा सुरक्षा कडा बनाइने डिएसपी योगीले बताए।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई पैसा बाँडेको भन्दै आक्रोसित सर्वसाधारणले शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त बनाएका थिए। अहिले जिल्लाको अवस्था सामान्य रहेको योगीले बताए। मन्त्री थकाली पनि जिल्लामा आफन्तको घरमा बसिरहेका छन्।