
काठमाडौँ : मतदाता प्रभावित पार्न आएको भन्दै स्वास्थ्यमन्त्री गगन थापालाई काठमाडौँ कपनमा एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका छन्। सोलुखुम्वु घर भएका नातेदार हजुरबुवाको स्वास्थ्य स्थिती बुझेर फर्कने क्रममा निलोपुलमा मन्त्री थापामाथि दुर्व्यवहार भएको हो। एमाले कार्यकर्ताले थापा चढेको गाडीमा सामान्य क्षति पुर्याएका छन्।
मन्त्री थापाले हजुरबुवा भेटेर पार्टीकै साथीको घरमा पस्न लाग्दा एमाले कार्यकर्ताले दुर्व्यवहार गरेको बताए। ‘९३ वर्षको हजुरबुवा भेटेर पार्टीकै साथीको घरमा छिर्न लाग्दा गर्दा बाहिरबाट भीड आयो। पैसा बाँड्ने भन्दै मलाई दुर्व्यवहार गर्न थाले’, थापाले भने, ‘उनीहरुले पैसा बाँड्न आएको भन्दै मलाई गाली गरे। मैले बुढानिलकण्ठका भोटर पैसामा किनिने हुन भनेर अपमान गर्न खोजेको भन्दै प्रतिवाद गरेँ। त्यसपछि उहाँहरुले नियन्त्रण नै गुमाउने खतरा देखियो अनि म त्यहाँबाट बाहिरिए। मैले आफ्ना साथीको घरमा जान पनि नपाउने?’
उनले एमाले कार्यकर्ताको शैली खेदजनक भएको बताए। आक्रोशित एमाले कार्यकर्ताले कांग्रेसका बुढालीलकण्ठ नगरपालिका १२ नम्वर वडाका उम्मेद्वार श्याम तिमिल्सिनालाई पनि बाटो छेकेर धम्क्याएका थिए।
एमालेका वडा नम्वर १२ का उम्मेद्वार शम्भु भट्टराईले मन्त्रीले आचारसंहिता उल्लङ्घन गरेको बताए। भट्टराईले भने ‘मन्त्रीजस्तो मान्छे, आजमात्र हैन हिजो पनि आएका थिए। अस्ती राति फूलबारी टोलमा नै विताएका थिए। आज जोरधारा आउनुभएको थियो। हाम्रा साथीहरुले सुकेधारासम्म उहाँलाई फलोअप गरेका हुन्। अस्ती कांग्रेसको सभामै आज माइक फुक्ने भोलिदेखि कान फुक्ने भनेका थिए। उनी लगातार आइरहेका छन् किन आए भन्ने त्यसैबाट पनि प्रस्ट हुन्छ।’
उनले थापाको गाडीले भावानी दाहालको छोराको बाइकलाई ठक्कर दिएको तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेको बताए।
तस्विर : उदेश रायकाे फेसबुकबाट