
काठमाडौंः सरकारले औषधि खरिद बिक्री आफैंले गर्ने भएको छ ।
सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधै खरिद गरी सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी गरेको हो। स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा सरकारले आफैंले औषधि खरिद गरी बिक्री गर्दा ५० प्रतिशतसम्म सस्तो पर्ने उल्लेख छ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुझाव समितिले आत्मनिर्भर हुनसकिने औषधिमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्वयन गर्ने निर्णय भएको बताए।
नेपाली बजारमा बिक्री हुँदै आएका क्यान्सर, मिर्गौलालगायत रोगका औषधि दुई हजार दुई सय प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री हुनेगरेको तथ्य फेला परेको मन्त्रालयको दाबी छ। अहिलेसम्म स्वदेशी कतिपय औषधि विदेशी भन्दा महङ्गो हुने गरेकोमा खपत बढ्न थालेपछि स्वदेशी पनि सस्तो हुने मन्त्रालयको विश्वास छ ।
मन्त्रिपरिषद्को गत मङ्गलबारको बैठकले औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा खरिद बिक्री गर्न सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गरिसकेको छ।
सुझाव समितिका अनुसार अहिले ४९ वटा औषधि उद्योग, आठवटा पशुपक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन्। आयाततर्फ २९४ आधुनिक औषधि उद्योग, १३ वटा पशुपक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेदिक औषधि उद्योग दर्ता छन् ।
आर्थिक वर्ष २०७२/७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६५, भारतीय उत्पादनको ५२५ र अन्य मुलुकको २५ रहेको प्रतिवेदनमा उल्लेख छ।
विदेशी औषधि आयातकर्ताले भने सरकारको यस्तो कदम सफल नहुने चेतावनी दिएका छन्। उनीहरुले स्वदेशी औषधि र उद्योगलाई प्रोत्साहन गर्ने नाममा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । अत्यावश्यक औषधि आयात ठप्प पार्ने चेतावनी दिंदै नेपाल औषधि आयातकर्ता सङ्घले आन्दोलनको घोषणासमेत गरेको छ। रासस