PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मजदुरलाई छोएन स्थानीय चुनावले, 'भोट भन्दा ठूलो छोराछोरीको पेट'



उमेश पौडेल

मजदुरलाई छोएन स्थानीय चुनावले, 'भोट भन्दा ठूलो छोराछोरीको पेट'

काठमाडौँ : काठमाडौंको गोठाटारको एक चियापसलमा हरेक दिन चुनावका निकै ठूलाठूला कुरा गर्दै विभिन्न पार्टीका स्थानीय नेता र समर्थकहरु गफ पिटिरहेका हुन्छन्। तर त्यही पसल निजिकै घर निर्माणमा काम गरिरहेका मजदुरलाई भने स्थानीय निकायको चुनावले छोएको छैन।

चियापसल नजिकै बन्दै गरेको घरका लागि सिन्धुली कमलाखोँचकी ५३ बर्षिय चिनिमायाँ तामाङ डोकोमा इटा बोकिरहेकी छिन्। उनी विहान ६ बजेदेखी १० बजेसम्म पहिलो सिफ्टमा काम गर्छिन अनि खाना खाएर फेरी ११ बजेदेखि ७ बजेसम्म दोश्रो सिफ्टमा निरन्तर ईट्टा बोक्ने काम गर्छिन्। चुनावभन्दा बढी उनीलाई परिवार, छोराछोरीको भोको पेट भर्ने चिन्ता छ।

'चुनावका लागि भन्दै फोटो खिचेर लगेका थिए तर काम भएका कारण घर जान पाइएन' उनको निर्वाचन प्रति गुनासो छ 'विहान बेलुका काम गरेन भने परिवार पाल्न गाह्रो छ, श्रीमान बितेको चारबर्ष भो घरपरिवार धान्न काम गर्नैपर्‍यो।'

शुक्रबार गाउँका एकजना नेताले भोट हाल्न जानका लागि गाडिको व्यवस्था भएको बताएपनि आफूले काम छाड्न नसेकेको उनले बताइन्। 'काम गर्न छाडेपछि फेरी काम पाउन मुस्किल छ' चिनिमायाँले भनिन् 'भोट भन्दा छोराछोरीको पेट ठूलो भयो।'

 
गोठाटारमै घर निर्माणको काम गरिरहेका रामेछापको गेलुका २० बर्षिय मदन बस्नेतलाई पनि चुनावले छोएको छैन। उनी घरमा प्लास्टरको काम गरिरहेका थिए। 'खै चुनाव त आएको हल्ला सुनेको छु तर मतदाता नामावलीमा नाम छैन भनेर घरबाट आमाले भन्नुभयो त्यहि भएर घर गइन।'

'नामावली लेखाउने बेलमा पनि काठमाडौंमा काम गर्दैथिएँ, थाहा पनि पाइएन। तर मलाई न हर्ष न विस्मात जे गरेपनि नेताले मात्रै मोज गर्ने रहेछन्, हामी जहाँको त्यहिँ।' 

त्यसो त निर्वाचनले पनि आफ्नो जीवनस्तर सुधार हुनेमा उनलाई विश्वास छैन।

'भोट हालेर के हुन्छ र ? हामीले काम गर्नु नपर्ने भए पो! अरु भोट हाल्छन हामी यहाँ सिमेन्ट र ईट्टा थ्याप्प थ्याप्प हाल्छौँ, यहि हो हाम्रो निर्वाचन।' 
बस्नेतसँगै काममा खटिएका अर्का एक मजदुरलाई पनि भोट हालेर हुने परिवर्तनमा विश्वास छैन। उनले सिधा प्रश्न सोधे – किन जानु भोट हाल्न? मैले यस्ता ठुटे नेतालाई धेरैपटक भोट हालिसकेको छु। चुनाव हामीजस्ता गरिबका लागि कहिल्यै आएन।
 
'अरूलाई नेता बनाउन भोट हाल्न जानुभन्दा ठेकेदारले भनेको मान्दा ज्याला बढाइदिन्छ यतै खुसी छु,’ उनले खुसीको साधन सुनाए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell