
काठमाण्डौँ : प्रतीक्षा नै मान्ने हो भने यो २० वर्षे लामो प्रतीक्षाको अन्त्य हो। किनभने २०५४ पछि पहिलो पटक जनता आफ्ना प्रतिनिधि छान्न आफैँ आ-आफ्ना टोलका मतदान केन्द्रमा लामवद्ध भैरहेका छन्। रिक्तताको हिसाबले भन्ने हो भने जनताको शासन स्थानीय निकायमा फर्काईँदै गरेको यो निकै ऐतिहासिक क्षण पनि हो।
जनता नै शक्तिका स्रोत हुन भनेर मान्ने हो भने जनताले नयाँ संविधानको मर्म र भावना अनुसार स्थानीय सरकारको रचना गर्ने र स्थानीय सरकार प्रमुखहरुको चयन गर्ने यो ठूलो महाकुम्भ हो।
आ(आफ्ना मतसँग आ-आफ्ना रोजाईका जनप्रतिनिधि छान्न लामवद्ध मतदाताहरु आउँदा स्थानीय सरकारको भाग्यविधाता बन्दै गरेको ऐतिहासिक क्षण पनि हो यो। जनता जागेको बेला संकटका बादलहरु आफैं फाटेर जान्छन भन्ने त बलियो उदाहरण पनि हो यो। किनभने जनता अघिअघि र दलका नेता पछिपछि लागेर सम्पन्न हुँदै गरेको यो संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तहको चुनाव हो। गणतन्त्र जनताका बस्तीबस्तीका मतद्वारा विधिवत स्वीकृत र संस्थागत हुँदै गरेको जीवन्त प्रमाण पनि हो, मतदानको यो पहिलो दुर्लभ लामो लाइन।
हो, आइतबार, ३१ वैशाख २०७४ को सूर्योदयले नेपाली लोकतन्त्रको मौलिक प्रयोगका अनगिन्ती किरणहरु एकसाथ प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा छरिरहेको छ। आफ्नो नियमिततामा सधै उदाउने सूर्य र आइतबारको बिहानीमा झुल्किएको सूर्यको फरक महत्व के हो भने आइतबार नेपाली आकाशमा चम्किदै गरेको सूर्यसँग लोकतान्त्रिक अभ्यासको तेज जोडिएको छ। जनताले स्वविवेकको परीक्षाबाट आफ्ना लागि शासक छान्ने नयाँ अविभारा पनि साथै गाँसिएको छ।
आइतबार प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा १३,५५६ जनप्रतिनिधि छनौट गर्ने कार्यको अन्तिम न्यायधीश तिनै जनता हुन, जो मतदानका लागि तातो घामका बीच लामवद्ध छन्। यसअघि १५ वर्षसम्म स्थानीय तहलाई कर्मचारीतन्त्र र सर्वदलीय सहमतीय तन्त्रमा चलाउदै आएका दलहरुको दलीय सिन्डिकेटको विधिवत पतन वा विघटनको यो शुभ घडि पनि हो।
किनभने अव देशभरका स्थानीय तहका मुख्यालयहरुमा जागिरे कर्मचारीको हैकम र दलीय झण्डावाल नेताहरुको भागशान्ति बाँडीचुँडी सत्ता अभ्यासको दबाब श्रृखला आइतबादेखि कम्तीमा ५ वर्षका लागि समाप्त हुनेछ। स्थानीय तहमा दलीयतन्त्रका अन्त्य जनताको असली शासनको उदय पनि हो आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म चल्दै गरेको व्यापक जनसहभागितापूर्ण मतदान।
जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन्। तर १५ वर्षसम्म अकारण अवरुद्ध गरिएको स्थानीय तह चुनाव अब ती लामवद्ध जनताको शक्तिकै कारण फेरि फेरि अवरुद्ध हुन सक्ने छैन शायद। यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसर खेर गैरहेको होइन दिगो र संस्थागत भैरहेको घडि पनि हो यो जारी मतदान। मतदानमा देखिएको जनताको ठूलो हिस्साको उत्साहवर्द्धक सहभागिताले भन्छ, लोकतन्त्र जोगाउन नेताहरु हुतिहारा भए पनि त्यसको अभिभारा लिन सक्षम जनता नै छन।
प्रधानमन्त्री प्रचण्डकै कथनमा एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगा हो। यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुला हुनेछ। प्रचण्डको यो दाबी चाँही किन पनि सही हो भने यस पटकका स्थानीय तह साच्चिकै अधिकार सम्पन्न र शक्तिशाली स्थानीय सरकारका रुपमा स्थापित हुँदैछन। यो नै नेताहरुले बिगतमा भन्ने गरेको नयाँ नेपाल निर्माणको शिलान्यास वा पहिलो पाइला हो।
सहभागिता वा समावेशिताको कसीमा पनि यो चुनाव ऐतिहासिक छ। यो चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई जना महिला चुनिने व्यवस्था गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनीहरु लामवद्ध मतदाताहरुबाटै अगुवाका रुपमा स्थानीय तहमा प्रवेश गर्न सक्ने हैसियतमा जन्मिदैछन, उदाउदैछन।
गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुखमध्ये एक जना महिला उठाउनै पर्ने व्यवस्थाबाट पनि धेरै स्थानीय महिला स्थानीय सरकारका भरपर्दा सारथीका रुपमा उदाउदै छन्। प्रचण्डकै शव्दमा यो शदियौँदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तिकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हो।
लगभग बीस वर्षको अन्तरालपछि सम्पन्न हुँदै गरेको स्थानीय चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुला भएको पक्का हो। सिंगो देश सहभागी भएको लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न दल भन्दा अग्र मोर्चामा जनता अग्रसर भएका कारण पनि आइतबारको जारी मतदान विशेष दिन हुन सकेको छ। त्यसैकारण पनि प्रधानमन्त्री प्रचण्डले भने जस्तै ३१ वैशाख वा ३१ जेठलाई मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन भयो भन्दा अतिशयोक्ति हुँदैन्।