
चीनः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘वन बेल्ट वन रोड’ (ओबिओआर) फोरमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकार्यका लागि चीन खुला विश्व र बहुपक्षीय सम्बन्धको आधार सिर्जना गर्ने मजबुत खम्बा बनेको बताएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा भेट गर्दै महासचिव गुटेर्रेसले सम्मेलनले चीनको विलक्षण दूरदर्शी र रणनीतिक दृष्टिकोणको पुष्टि गरेको बताए।
उनले चीनको यो पहलकदमीले अर्थतन्त्रको विश्वव्यापीकरणमा थप सन्तुलन, समावेशी र मैत्रीपूर्ण विकासमा महत्वपूर्ण योगदान गर्ने बताए।
संयुक्त राष्ट्रसङ्घ चीनसँग विकासोन्मुख राष्ट्रहरुमा शीघ्र आर्थिक विकास गर्न र राष्ट्रसङ्घको दिगो विकासका लागि सन् २०३० को लक्ष्य सफल पार्न निकटमा रहेर काम गर्न चाहेको गुटेर्रेसले बताए।
सो अवसरमा चिनियाँ विदेशमन्त्री वाङले ‘वेल्ट एन्ड रोड’को पहलकदमी विश्वलाई महत्वपूर्ण सामानहरुको आदानप्रदानमा सघाउने दृष्टिकोणबाट ल्याइएको बताए। रासस/सिन्ह्वा