काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत आज तीन प्रदेशमा मतदान जारी छ। तर मतदाताहरुले मतदानको क्रममा केही समस्या भोग्नुपरेको बताएका छन्। पहिलोपोस्टका विभिन्न स्थानमा रहेका संवाददाताहरुले मतदातासँग गरेको कुराकानीका आधारमा समस्या भोगेको बताएका हुन्।
मतपत्र टेबलमै अटेन
मतदाताहरुले मतपत्र छाप लगाउन टेबलमा राख्न खोज्दा नअटेको गुनासो गरेका छन्। ललितपुरका मतदाताहरुले टेबल सानो भएका कारण चिन्हमा छाप लगाउन समस्या भएको बताएका छन्। तल रहेका चिन्हहरु हेर्न समेत मतदाताले नभ्याउने अवस्था देखिएको उनीहरुको गुनासो छ। माथि छाप लगाएर तल आउँदा मसी लतपतिन सक्ने पनि देखियो।
चिन्ह उस्तैउस्तै
मतदाताहरुले राप्रपा नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीको चिन्ह उस्तै देखिएको बताएका छन्। चिन्ह उस्तै छन्। राप्रपाको गाई र तमलोपाको चिन्ह हलगोरु छ। मतपत्रमा चौथो नम्बरमा गाई छ भने सातौँ नम्बरमा हलगोरु छ। 'मतदान स्थलमा गए पछि आत्तिएर कुन हो कुन हो पत्तै पाइँदैन,' सोह्रखुट्टेका पूर्णमान तुलाधरले आफ्नो अनुभव सुनाए। गत २०७० सालको संविधान सभाको चुनाबमा पनि गाई र हलगोरुमा झुक्किएको मतदाताले गुनासो गरेका थिए।
मसीको समस्या
मतपत्रमा यसपटक सात ठाउँमा छाप लगाउनुपर्छ। तर दुई छाप लगाएपछि स्वस्तिक चिन्हको मसी सुक्छ। तेश्रोमा छाप धमिलो हुन्छ। अनि धमिलो छापमा अर्को छाप लगाए मत बदर हुन्छ। त्यसैले मतदाताहरु अलमलमा परेका छन्। उनीहरुले मसी सुक्ने समस्याले हैरानी भोगेका हुन्। छाप लगाउँदा पटक पटक स्याट्म्प प्याडमा स्वस्तिक चिन्ह मिलाउनुपर्ने हुन्छ।
'तीन पटक सम्म चोप्नुपर्छ। मसी कमसल पर्यो जस्तो छ,' कीर्तिपुर पाँगाकी मतदाता सुनिता महर्जन भनिन्, 'भोट हाल्न पनि त्यसैकारण समय लाग्यो।'
साधनको समस्या, पानीको समस्या
बानेश्वरबाट मतदानका लागि कपन जानुपर्ने नारायण सिग्देलले समस्या बताए। 'पहिला कपन बस्थेँ। नाम त्यतै थियो। अहिले बानेश्वर बस्छु । युरिक एसिडको समस्याले खुट्टा टेक्न समस्या भएको छ। हिँडेर आउनुपर्ने अवस्था भयो,' उनले भने। त्यस्तै काठमाडौँको मतदाता रहेका कमल गौतमले पनि भक्तपुरबाट सवारी नहँदा पाँच वर्षकी छोरी बोकेर बानेश्वर आउनुपरेको लेखेका छन्।
पसलहरु नखुल्दा मतदाताहरुले पानी किन्न नपाएको र लाइनमा बस्दा गर्मीले तिर्खा लागेको समस्या समेत सुनाएका छन्।