काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको अरुणोदय माध्यमिक विद्यालयमा रहेको बुथमार्फत भोट गर्नका लागि ३० मिनेटको उकालो चडेर आइन् १०० वर्षीया शान्तिमाया तामाङ। सबैले भोट गर्नु पर्छ भनेकै कारण मतदान आवश्यक रहेको उनको बुझाइ हो। भनिन्,'गर्नुपर्छ है आमा भनेको'थ्यो त्यही भएर बिहानै आएको।' उनले मतदान त गरिन् तर आफूले कसलाई भोट हाले थाहा नभएको बताइन्। 'के थाहा कसलाई हालेँ भन्ने त।'
शान्तिमाया एक सहयोगीसँग मतदान गर्न गएकी हुन्। सहयोगीले नै मतछाप लगाएको उनले सुनाइन्। कुन चिन्हमा लगाउने भन्ने चाहिँ शान्तिमाया आफैले बताएकी हुन् तर कुन व्यक्तिको लागि छाप लगाएको उनलाई थाहा छैन। 'यही ठाउँमा आएर ४/५ वर्ष अगाडि भोट गरेको याद छ तर मान्छे कोही चिनेको छैन। अब त झन् आँखा पनि राम्रो नदेख्ने बाको छु कसरी चिन्न्नु?', उनले दुखेसो पोखिन्।
ओखलढुङ्गाकी स्थानीय तामाङले गाउँमा रहँदा जुन चिह्न राम्रो हो भन्ने सिकाएको थियो सोही चिह्नमा भोट गर्दै आएको बताइन्। शान्तिमाया तामाङ प्रतिनिधि वृद्धा हुन्। उनी जस्ता धेरै सहयोगीको साथमा बुथ भित्र पस्छन् र सिकाइएको आधारमा मतदान गर्छन्। उनीहरुलाई थाहा नै हुँदैन कसलाई के को आधारमा भोट गर्ने?
स्थानीय सानी राउतलाई पनि आफूले कुन चिह्नमा भोट हालेको हो थाहा छ तर कसलाई किन हालेँ थाहा छैन। भन्छिन्,'छोरासँगै गएर हालेको राम्रैमा त हल्दियो होला नि।' ८५ वर्षीय सानीले आजसम्म तीनपटक भोट गरेको सम्झिन्छिन्, 'तर देश एकपटक पनि बनेन्', उनी चिन्ता व्यक्त गर्छिन्।
'पढ्न जानेको भए एक्लै गएर भोट हाल्थे होला', ७९ वर्षीया बिमला बुढाथोकीको दुखेसो बेग्लै छ। उनले सहयोगीले आफूले भनेकै व्यक्तिको लागि भोट खसालिदिएको सुनाइन। 'अक्षर नचिने पनि चित्र त चिनिहालिन्छ नि।'