काठमाडौं : गृह मन्त्रालय पहिलो चरणमा स्थानीय तहको निर्वाचन भइरहेको ३४ वटा जिल्लामा शान्ति सुरक्षा चुस्त रहेको दाबी गरेको छ। सुरक्षा निकायका कारण निर्वाचन अवरुद्ध नभएको मन्त्रालयको दाबी छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव बालकृष्ण पन्थीले तीन जिल्लाका केही निर्वाचन केन्द्र प्रभावित भए पनि सुरक्षा व्यवस्था कमजोर नभई राजनीतिक दलको कारण भएको बताए। उनले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाको कमजोर व्यवस्थापनको कारण काहिँ पनि निर्वाचन प्रभावित भएको छैन।'
अहिलेसम्म सबैजसो जिल्लामा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको उनले बताए। ३४ जिल्लामा २२ हजार ५ सय ६९ नेपाल प्रहरी, १७ हजार २ सय ५६ सशस्त्र प्रहरी, सय ३ सय ८३ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन गरिएको छ।