
काठमाडौँ : झापाको भद्रपुरबाट प्लेन चढेर दिउँसो २ बजे काठमाडौँ झरेका अनिश लुइँटेल त्रिभुवन बिमानस्थलमा अलपत्र परे। एक हातमा सुटकेस अर्कोमा हाते झोला! विमानस्थलबाट कालिमाटीसम्म कसरी पुग्ने अनिश चिन्तित देखिन्थे। निर्वाचनका कारण उपत्यकामा सवारीसाधन नचल्ने थाहा पाएपछि उनी निराश बने।
अनिसमात्रै होइन आज हवार्इयात्रा गर्दै काठमाडौं झर्ने वा बाहिरिने सबैलार्इ यस्तै किसिमको समस्या परेको छ। नयाँबस्तीका कुमार मगर आज बहराइन जानुपर्ने छ। बेलुकी ५ बजेको उडान भएका मगर दिउँसै साथीले गल्ली गल्लीबाट छिराउँदै विमानस्थलसम्म ल्याइदिएछन्। तर भित्री गल्लीहरुबाट बिमानस्थल छिराइदिएका साथीले निस्कने उपाय पाएनन्। उनी भन्दै थिए-"साथीको मायाले चोरबाटोबाट यहाँसम्म ल्याइदिएँ। अब आफू कसरी फर्कने होला?"
यस्तै छ लाल चन्द र उनका साथीहरुको कथा पनि । दुबर्इ जानका लागि लामो समयदेखिको प्रयास सफल हुँदैछ उनीहरुको। आज बेलुकी पाँच बजेको उडानबाट दुबर्इ जान लागेका उनीहरु हिजै गौशाला आएर बसेका थिए। दुई महिनादेखि बसपार्कमा बस्दै आएका उनीहरु चुनावको दिन गाडी चल्दैन भनेरै हिजै गौशाला आएका हुन्। आज बिहानै उनीहरु गौशालादेखि हिँडेर बिमानस्थल पुगिसकेका छन्। लालचन्द भन्छन् -‘प्लेन छुट्नुभन्दा त छिट्टै पुगेको राम्रो नि!’
बिजय शाहको भोगाई पनि कष्टपूर्ण छ। बिजय नयाँ बसपार्कदेखि सुटकेस र ठूलाठूला लगेजसहित लैनचौरसम्म पैदलै आए । लैनचौरबाट भने एउटा ट्याक्सीलार्इ चर्को भाडा तिरेपछि ट्याक्सीले भित्री बाटोबाट विमानस्थल ल्याइदिएको उनले बताए । उनी बेलुकी ६ बजे अध्ययनकालागि जापान जाँदै छन्।
यात्रुहरुले सवारी साधन नपाएर निकै नै समस्या भोगिरहँदा उपत्यकाका तीनवटा रुटमा भने नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी इकार्इले भने सटल बस संचालन गरेको छ । आन्तरिक र विदेशी पर्यटकका लागि यो सुविधा दिइएको बोर्डले जनाएको छ।
यस विषयमा थप जानकारीका लागि ११४४ मा सम्पर्क गर्न सकिने बताइएको भएपनि यात्रुहरुले यसबारेमा जानकारी नपाउँदा सास्ती पाएका हुन्।धेरैलार्इ सटलबस चलाएको जानकारी समेत छैन।