
काठमाडौँ : निर्वाचन आयोगले समग्रहमा शान्तिपूर्ण र उल्लासपूर्ण मतदान सम्पन्न भएको जनाउँदै ७१ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
तीन प्रदेशका ३४ जिल्लाका २ सय ८१ तहमा आइतबार निर्वाचन सम्पन्न भएको हो। आयोगले काठमाडौँ उपत्यकामा ७० प्रतिशत र नवलपरासीको नवलपुर क्षेत्रमा ७५ प्रतिशत मत खसेको आयोगले उल्लेख गरेको छ।
आयोगले पत्रकार सम्मेलन गरी तीन जिल्लाका तीन मतदान केन्द्रको निर्वाचन भने स्थगित गरिएको जानकारी दिएको छ।
- कालिकोटको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र
- दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्र
- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र
आयोगले दोलखामा भएको झडपमा एक जनाको ज्यान गएको जनाउँदै दु:ख व्यक्त गरेको छ। साथै ती स्थानमा आयोगले पुन: निर्वाचन कार्यतालिका प्रकाशित गर्ने जनाएको छ।
आयोगका प्रमुख अयोधीप्रसाद यादवले यसपटकको निर्वाचनमा महिला, दलित र अल्पसंख्यक समुदायका मानिसहरुको सहभागिता उल्लेखनीय रहेको जनाए।