म्याग्दीः बेनी नगरपालिकाको मतगणना सुरु भएको छ। बेनी नगरपालिका –१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो।
अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र कांग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगरपालिका १ रत्नेचौरका दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ। वडाको सम्पूर्ण गणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिए।
मतगणनाको सुरुवातमा राजनीतिक दलका प्रतिनिधिको सहमतिमा आचारसंहितासमेत बनाइएको छ । नगरपालिका –१ को मतगणना सम्पन्न भएपछि क्रमशः अरु वडाको सुरु गरिने छ।
बेनी नगरपालिकामा १८ हजार ३४५ मत रहेकोमा १३ हजार १२८ मत खसेको छ।
यसैबीच, पाँचवटै गाउँपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । अन्य गाउँपालिकाका केन्द्रमा पनि अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने जनाइएको छ । रासस