PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

म्याक्रोँद्वारा राष्ट्रपतिको पदभार ग्रहण



रासस

म्याक्रोँद्वारा राष्ट्रपतिको पदभार ग्रहण
फोटो श्रोतःtommykingsblog.com

पेरिसः फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित भएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन्। 

मध्यमार्गी नेता म्याक्रोँले गत आइतबार भएको निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेनलाई दोस्रो चरणको निर्वाचनमा पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

निर्वाचन परिणाम आएको एक हप्तापछि म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका हुन्। 

फ्रान्सको एलिसी प्यालेसमा पूर्व राष्ट्रपति अलान्दले नवनिर्वाचित राष्ट्रपतिलाई स्वागतपछि केही समय गोप्य वार्ता गरेका थिए। त्यसपछि म्याक्रोँलाई फ्रान्सको आणविक भण्डार सञ्चालन गर्ने आचारसंहिता सहितको पदभार औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। 

म्याक्रोँलाई पूर्वराष्ट्रपति अलान्दले राजनीतिक यात्राको सुरुवात आफ्नै आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरी सुरु गराउनुभएको थियो । उहाँलाई पछि अर्थमन्त्री बनाउनसमेत अलान्दको मुख्य भूमिका रहेको थियो। 

पदभार ग्रहण गर्नुपूर्व कन्तिच्युसनल काउन्सिलका लरेन्ट फेबिअसले निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा गरेका थिए। म्याक्रोँ युरोपियन युनियन आवद्ध सदस्य राष्ट्रसँग आफ्नो मध्यमार्गी नीतिका कारण लोकप्रिय मानिन्छन्। 

सपथपछि उनले दिएको छोटो मन्तव्यमा विश्व र युरोपले फ्रान्सलाई पहिलेभन्दा बढी मजबुत र भाग्यशाली भएको देख्न चाहेको बताए। सपथग्रहणको औपचारिक कार्यक्रमपछि २१ तोपको सलामी दिई स्वागत गरिएको थियो । रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell