
काठमाडौँ : निर्वाचन आयोगले आइतबार मतदान भएका २ सय ८१ स्थानीय तह मध्ये ७९ वटामा मतगणना भैरहेको जनाएको छ।
आयोगले कतिपय मतपेटिका अझै निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन नसकिएको समेत जनाएको छ। प्रदेश ४ का सम्पूर्ण मतपेटिका जम्मा गरिएको तर प्रदेश ६ र ३ का केहि मतपेटिका अझै संकलन गर्न नसकिएको उल्लेख गरेको छ।
प्रदेश नं ६ को ५१ तहको मतपेटिका जम्मा गर्नै बाँकी रहेको आयोगले जनाएको छ। जसमध्ये ४१ वटा तहको संकलनका लागि बाटोमै रहेको र १० वटा अझै मतदान केन्द्रमै रहेको उल्लेख गरेको छ।
प्रदेश नं ३ को पनि ८ वटा मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन बाँकी रहेको जनाएको छ। प्रदेश नं ३ कै चितवनमा ढुवानी क्रममा १० वटा मतपेटिका भित्रको मतपत्र भिजेको छ।
निर्वाचन आयोगले २९ तहका मतपेटिका भने एयरलिफ्ट गरेर संकलन गरेको थियो। आज १२ बजेसम्ममा सबै मतपेटिका संकलन भैसक्ने प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
७४ प्रतिशत मतदान
आइतबार भएको मतदानमा कूल ७४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। ४९ लाख ५६ हजार ९ सय ३६ मतदाता मध्ये ३६ लाख ४८ हजार ४ सय ९१ मतदाता मतदानमा सहभागि भएका हुन्।
निर्वाचन भएका ३४ जिल्ला मध्ये २१ जिल्लामा ७० प्रतिशत माथि मतदान भएको छ। त्यस्तै ३ वटा जिल्लामा ८० प्रतिशत माथि र बाँकीमा ६० प्रतिशत माथि मतदान भएको छ।