
काठमाडौं : राजनीतिक दलबीच सहमतिपछि भरतपुर महानगरपालिकाको मतगणना केही बेरमा सुरु हुने भएको छ।
प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपानेका अनुसार निर्वाचन सम्वन्धी प्रचलित ऐन अनुसार मत गणना गर्ने प्रस्तावमा दलका सर्वपक्षीय प्रतिनिधिले सहमति जनाएका छन्। यो सहमतिसँगै विहानैदेखि सुरु भएको वादविवाद अन्त्य भएको छ। मतपेटिका बढी आएको भन्दै दलबीच विवाद बढेपछि सहमति हुन सकेको थिएन।
मतगणनाका लागि सहमति जुट्न नसकेपछि न्यौपानले काठमाडौं मतपेटिका लगेर गणना सुरु गर्ने चेतावनी दिएका थिए। ‘तपार्इहरुले यहाँ सहमति गर्नुभएन भने हेलिकोप्टरबाट मतपेटिका लगेर उतै मतगणना सुरु हुन्छ,’ उनले दललार्इ चेतावनीका भाषामा भनेका थिए।