PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

उम्मेद्वारको प्राप्त मत भन्दा धेरै बदर, क्रस भोटिङ गर्दा गडबड



मनोज सत्याल

उम्मेद्वारको प्राप्त मत भन्दा धेरै बदर, क्रस भोटिङ गर्दा गडबड

काठमाडौँ : मतदाता शिक्षामा निर्वाचन आयोगको कमजोरीले मतपत्रमा सदर भन्दा बदर मत धेरै देखिएको छ। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम लागु गर्दै टेलिभिजन, रेडियो र पपत्रिकाबाट गरेको विज्ञापन पानीमा गएको छ। आयोगले मतदान अघि शिक्षकहरु परिचालन गर्दै मतदाता शिक्षा कार्यक्रम समेत लागू गरेको भए पनि मतदाताले नबुझेको देखिएको हो। 

काठमाडौँकै मतदाताले समेत मत्रपतमा मत खसाल्दा 'प्यानल' भोट हाल्ने बाहेक क्रस भोटिङ गर्दा धेरै बिग्रिएको देखिएको हो। 

काठमाडौँको मतगणनामा दलीय प्रतिनिधि रहेका गणेश सुनारले भने – एक भोट मात्रै हालेर खाली छाड्ने पनि देखिए। अनि सूर्यमा पनि छाप, रुखमा पनि छाप लगाएको देखिन्छ। मेयर र उपमेयर फरक छान्न खोज्दा धेरै बिग्रिएको छ।'

काठमाडौँको प्रारम्भिक मत परिणाममा मेयर पदको मात्र ९५ मत बदर भएको छ। बदर मतको संख्या नेकपा माओवादी केन्द्रका उम्मेद्वार सर्वोत्तम डंगोलले प्राप्त गरेको मत भन्दा पाँच गुणा बढी छ भने नयाँ शक्तिका उम्मेद्वार पवित्र बज्राचार्यले प्राप्त गरेको मत भन्दा चार गुणा बढी हो। 

८ सय ६४ मत गणना गर्दा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यको २ सय ४२ मत छ। साझा पार्टीका किशोर थापाको १ सय ६९ मत छ। कांग्रेसका राजुराज जोशीको १ सय ५३ मत छ। भने विवेकशिलकी रञ्जु दर्शनाको १ सय २० मत छ। नयाँ शक्तिका पवित्र बज्रचार्यले २२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १४ मत मात्र ल्याएका छन्। 

एमाले र राप्रपा गठबन्धन गरे पनि मतपत्रमा गठबन्धन अनुसार मत आएको छैन। एमाले उम्मेद्वार अगाडि रहँदा राप्रपाका राजाराम श्रेष्ठले १७१ मत मात्र प्राप्त गरेका छन्। कांग्रेसकी उपमेयर उम्मेद्वार प्रभा खड्गीले २ सय १५ मत पाएकी छिन्। 

मत गणनामा दलीय प्रतिनिधिहरुको नतृत्व गरिरहेका तथा एमालेका प्रतिनिधि समेत रहेका सांसद रामवीर मानन्धरले प्रारम्भिक मतपरिणामले कार्यकर्ताले गठबन्धन अस्वीकार गरेको देखिएको बताए। 

'सूर्य चिन्हमा धेरै छाप आएका छन्। तर ती सबै बदर भए,' उनले भने, 'पार्टीले नै उपमेयर उठाएको भए पनि जित्ने देखियो।'

उपमेयरमा ८ सय ६४ मत गणना गर्दा १ सय ७९ मत बदर भएको छ। यो उपमेयरका उम्मेद्वार राजाराम श्रेष्ठले प्राप्त गरेको भन्दा ८ मतले बढी हो। 

मेयर र उपमेयर मात्र होइन वडा सदस्यहरुमा समेत मत बदर भएका छन्। महिला वडा सदस्यमा मात्र ६२ मत बदर भएका छन्। त्यस्तै दलित महिला सदस्यमा ५६ मत बदर भएको छ। खुल्ला तर्फ एक चिन्ह भएको सदस्य तर्फ ८४ र दुई चिन्ह भएको सदस्य तर्फ ८३ मत बदर भएको छ। 
आयोगले एउटा मतपत्रमा सात वटा कोलममा सात उम्मेद्वार प्रतिस्पर्धा गर्ने गरी मतपत्रको डिजाइन तयार गरेको थियो। तर डिजाइन अनुसार मतदाताले भने बुझ्न नसकेको देखिएको हो।

'यो पनि चिनेको भोट दिउँ, यो छिमेकी भनेर भोट दिउँ गरेको जस्तो देखिन्छ', मानन्धरले भने, 'चिन्ह एउटा हो कि दुईवटा भन्ने कन्फ्युजनमा मत खेर गएको देखियो।'

काठमाडौँको राष्ट्रिय सभा गृहमा राप्रपाका तर्फ दलीय प्रतिनिधि रहेका कुमार महर्जनले पनि बदर मत धेरै भएको स्वीकार गरे। 
'बदर मत त कति हो कति', उनले भने, 'भोट हाल्नेले बुझेको देखिएन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell