PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

मतगणना सुस्त भएपछि महानगरमा कम्तिमा ६ ठाउँमा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन



पहिलोपोस्ट

मतगणना सुस्त भएपछि महानगरमा कम्तिमा ६ ठाउँमा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले महानगरपालिकामा कम्तिमा ६ ठाउँमा मतगणना गर्न चार मुख्य निर्वाचन अधिकृतहरुको कार्यालयलाई निर्देशन दिएको छ। 

मतगणना ढिलाइ भएकोमा आलोचना बढेपछि आयोगले छिटो गर्ने नीतिगत निर्णय गरेर मुख्य निर्वाचन अधिकृतहरुको कार्यालयलाई जानकारी गराएको हो। 

आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबार बिहानै काठमाडौँ महानगरको मतगणनास्थल भ्रमण गरेका थिए। काठमाडौँमा झण्डै २४ घण्टामा हालसम्म ८ सय मत मात्र गणना भएको छ। पोखरा, ललितपुर र भरतपुरमा पनि महानगरको मतगणना पनि कछुवा गतिमा अगाडि बढिरहेको छ। एउटा मत गन्न कम्तिमा २ मिनेट लाग्ने अवस्था देखिएपछि आयोगले गणनामा कर्मचारी थप्ने निर्णय लिएको हो।

यो हिसाबले एक ठाउँमा मात्र मतगणना गर्दा २ सय ७७ दिन लाग्ने हिसाब देखिएको थियो। 

'गणनामा खट्नेलाई भत्ता दिने र हाल निर्वाचन केन्द्र रहेको स्थानको नजिक गणना गर्ने निर्णय भएको छ', उनले बताए। 

आयोगले पाँच दिन भित्रै सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक गरिसक्ने उनले दावी गरे। 

' केन्द्र वरपरका भवनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएर र आवश्यक संख्यामा कर्मचारी थपेर र राजनीतक दलसँग सहमतिको आधारमा मतगणना गर्ने, भनेर निर्देशन पठाएका छौँ', मैनालीले भने। यो सँगै काठमाडौँ महानगरको मतगणना राष्ट्रिय सभा भवनको छेवैमा रहेको नेपाल पुलिस क्लबको भवनमा गर्ने तयारी भइरहेको छ। 

'ठाउँ पनि आवश्यक संख्यामा थप्ने, गणना गर्नेलाई भत्ता पनि दिने निर्णय भएको हो', उनले भने। 

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी बाहेकले मतगणनामा खट्दा पनि भत्ता नपाउने अवस्था भएकाले आयोगले त्यसलाई हटाएको हो। 
आयोगले गाउँपालिका र नगरपालिकाहरुलाइ पनि मतगणना छिटो गर्न भनेको छ। 

'गाउँपालिकामा पनि आवश्यक परे संख्या बढाउने भनिएको छ', उनले भने। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell