
काठमाडौं : पाँचौं दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्सको माले प्रस्थान गर्दैछ।
मे १९ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहनेछ।
सदीश प्रधानको कप्तानीमा रहेको नेपाली टोलीको अन्य खेलाडीमा सौरव श्रेष्ठ, अजय कुश्वाहा, विनोद महर्जन, विनोद श्रेष्ठ, केतन खड्का, मविन्द्र भण्डारी, विक्रम जोशी, रविन खत्री, अशिम श्रेष्ठ, विजय बुर्जा र आयुश सिंह रहेका छन्।
प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी तथा व्यवस्थापकमा नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठ छन्। फिबा रेफ्री राजकुमार महर्जन पनि टोलीसंगै माले जानेछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं बास्केटबल संघका अध्यक्ष समेत रहेका एनओसी महासचिव लामा टेन्डी शेर्पालगायतले मंगलबार बिदाइ गरे ।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको विजेताले लेवनानमा अगष्टमा हुने फिबा एसिया कपमा सहभागिता निश्चित गर्नेछ।
यसअघिका नेपाल तीन संस्करणमा नेपाल तेस्रो तथा तेस्रो संस्करणमा चौथो भएको थियो।