
काठमाडौं : निर्वाचन आयोगले मतगणना ढिलाइमा राजनीतिक दललाई दोष दिएको छ। मतगणना सुस्त भएपछि सर्वसाधारणसमेतले आयोगको कार्यक्षमतामाथि प्रश्न उठाएपछि आयोगले दोष दलतिर पन्छाउने प्रयत्न गरेको हो। आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो कार्यक्षमताको विषयलाई भने मतपत्रको आकारसँग जोडेर 'स्वभाविक' भएको दावी गरेको छ।
'एउटै मतपत्रमा सात जना पदाधिकारीका लागि अभिमत प्रकट गरेका कारण मतपत्रको गणनामा केही बढी समय लाग्नु स्भाविकै हो', आयोगको विज्ञप्तिमा उल्लेख छ।
तर, लाखौँ मत खसेका महानगरहरुको मत गणना समेत एक स्थानमा गरिरहेको आयोगले दोष भने दलहरुलाई थोपर्न खोजेको प्रस्ट देखिन्छ। विज्ञप्तिमा भनिएको छ – 'मतगणना कार्य निरन्तर चलिरहेको र मतपरिणाम पनि प्राप्त भइरहेको अवस्थामा कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेद्वारको तर्फबाट स-सना र आधारहीन विषयमा समेत अनावश्यक समस्या खडा गरी मतगणनाको कार्य लम्ब्याउने गरेको पाइएको छ।'
निर्वाचन आयोगले मतदाताले आफूले दिएको मतको परिणाम यथाशिघ्र जान्ने चाहाना राखेकोमा आयोगले सचेत रहको बताउन भने चुकेको छैन। यद्पि आयोगले मतगणना कार्यलाई छिटो गरी परिणाम घोषणा गराउनका लागि आवश्यक व्यवस्था मिलाएको दावी समेत गरेको छ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा राजनीतिक दलहरुलाई मतगणनाको कार्य छिटो सम्पादनमा आवश्यक सहयोग गर्न अनुरोध समेत गरिएको छ।