PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

६ नगरपालिकामा मत परिणाम सार्वजनिक, कहाँ को भए मेयर? को भयो पराजित?



पहिलोपोस्ट

६ नगरपालिकामा मत परिणाम सार्वजनिक, कहाँ को भए मेयर? को भयो पराजित?

काठमाडौँ : नगरपालिकाहरुको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेले नगरपालिकाहरुमा अग्रता हासिल गरेको छ। हालसम्म ६ नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ४ मा एमाले विजयी भएको छ भने १ मा कांग्रेस र १ मा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ। 


एमालेले जीतेका नगर

दोलखाको जिरी नगरपालिकामा एमालेका टंक जिरेल विजयी भएका छन्। उपमेयरमा पनि जिरीमा एमाले नै विजयी भएको छ। जिरेल स्थानीय तहको निर्वाचन अघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए। जिरेलले ३ हजान २ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका गेल्बु शेर्पाले २ हजार १ सय ०६ मत ल्याए। 

उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी विजयी भएकी छिन्। उनले ३ हजार ३ सय ६८ मत प्राप्त गरिन्। उनकी प्रतिष्पर्धी माओवादी केन्द्रकी चित्रमाया शर्माले १ हजार ९ सय ४१ मत मात्र प्राप्त गरिन्।

त्यस्तै एमालेको तर्फबाट डोल्पाको ठूलीभेरी नगरपालिकामा गणेशबहादुर शाही विजयी भएका छन्। उनले १ हजार ४ सय ८३ मत प्राप्त गर्दै मेयर पदमा जीत हासिल गरेका हुन्। पराजित उम्मेद्वार कांग्रेसका सुवर्ण बुढाले भने १ हजार ३ सय ६२ मत मात्र ल्याए। उपमेयरमा भने राप्रपाका योगेन्द्रबहादुर शाहीले जीत हात पारेका छन्। 

दैलेखको नारायण नगरपालिकामा पनि एमाले विजयी भएको छ। एमाले उम्मेद्वार रत्नबहादुर खड्का ४ हजार ७ सय २५ मत ल्याएर विजयी भएका हुन्। खड्काले कांग्रेसका मणिराम रेग्मीलाई हराएका हुन्। उनले ४ हजार ४ सय ४७ मत मात्र ल्याए।

उपमेयरमा पनि एमालेले जीत हात पारेको छ। एमालेकी सावित्री मल्लले ४ हजार ८ सय ६६ मत प्राप्त गर्दै जितेकी हुन्। उनले कांग्रेसकी बासना थापालाई पराजित गरेकी हुन्। थापाले ४ हजार २ सय ५८ मत ल्याइन्।

भेरी नगरपालिका जाजरकोटमा पनि एमाले विजयी भएको छ। एमालेका सिपी घर्तीमगर मेयरमा निर्वाचित भएका हुन्। उनले २ हजार ९ सय ५९ मत प्राप्त गरे। भेरीमा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा भएको थियो। कांग्रेस उम्मेद्वार सनतकुमार कार्कीले २ हजार ९ सय २९ मत ल्याए। 
भेरी नगरपालिकामा उपमेयरमा पनि एमालेले जीत हात पारेको छ। एमालेकी भावना भण्डारीले २ हजार ९ सय ८९ मत ल्याएर जीत हात पारिन्। उनकी निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रकी कृष्णा शर्माले २ हजार ८ सय १४ मत ल्याइन्। 


कांग्रेसले जीतको नगर


लमजुङको मध्य नेपाल नगरपालिकामा कांग्रेसका रमेशराज पाण्डे विजयी भएका छन्। उनले ५ हजार ९ सय ६८ मत प्राप्त गरेका छन्। पाण्डेले माओवादी केन्द्रका मेयर उम्मेद्वार मोहनहरी पौडेललाई पराजित गरेका हुन्। पराजित पौडेलले ४ हजार ५ सय ४७ मत ल्याए।

उपमेयरमा भने एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका राजकुमार श्रेष्ठले ५ हजार ५ सय ५६ मत ल्याएर जीत हात पारेका हुन्। उनले कांग्रेसकी सीता शाहीलाई पराजित गरिन्। शाहीले ५ हजार ३ सय ३२ मत ल्याइन्।


माओवादीले जीतेका नगर

रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देवीलाल गौतम विजयी भएका छन्। गौतमले ४ हजार ३ सय ५० मत प्राप्त गरेका हुन्। उनका निकटमत प्रतिद्वन्द्वि कांग्रेसका महेन्द्र केसीले ४ हजार १ सय ७४ मत प्राप्त गरे। 

उपमेयरमा पनि माओवादी केन्द्रकी प्रेमकुमारी सुनार केसी विजयी भएकी छिन्। उनले ४ हजार ४ सय ७९ मत प्राप्त गरिन्। निकटम प्रतिद्वन्द्वि कांग्रेसकी बालकुमारी गिरीले ४ हजार १ सय ५८ मत ल्याइन्। 

तस्विर : सिवश बस्नेतको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell