PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

मतगणना माथि पत्रिकाका कार्टुन, 'निर्वाचन आयोगले भेट्टाए काममा लगाइदेला!'



पहिलोपोस्ट

मतगणना माथि पत्रिकाका कार्टुन, 'निर्वाचन आयोगले भेट्टाए काममा लगाइदेला!'

काठमाडौँ : स्थानीय तहको पहिलो चरणको मतदान सकिएको तीन दिन बितिसक्दा पनि चार महानगरपालिका सहित झण्डै २ सय स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। लाखौँ मत खसेका महानगर र हजारौँ मत खसेका नगरपालिकाहरुको मतगणना निकै सुस्त छ। निर्वाचन आयोगले मतगणना स्थल थप गर्न निर्देशन दिएपछि महानगरको मतगणना बढाउने तयारी भैरहेको छ। तर अहिलेसम्म मतगणनाको स्पीड भने त्यस अनुसारको छैन।
 
मतगणनामा भैरहेको ढिलाई प्रति बुधबार पत्रपत्रिकाले कार्टुन मार्फत् व्यङ्ग गरेका छन्।
 
कान्तिपुर दैनिकमा अविनले बनाएको कार्टुनमा मतगणना स्थल गर्ने आयोगको निर्देशनको पृष्ठभूमीमा हिँडिरहेका दुई कछुवाको कुराकानी प्रस्तुत छ। 

एक कछुवाले अर्को कछुवालाई भनिरहेको छ – अलि जोगिएर हिँड है! निर्वाचन आयोगले भेट्टायो भने काममा लगादेला नि फेरी! 

कछुवा गतिमा भैरहेको मतगणना र मतगणनामा खटिने कर्मचारीप्रति अविनले व्यङ्ग गरेका हुन्। 


त्यस्तै अन्नपूर्ण पोस्ट दैनिकले भने बुधबार बदर मत माथि व्यङ्ग गरेको छ। मतगणना जारी रहँदा उम्मेद्वारले प्राप्त गरेको भन्दा बदर हुने मतको संख्या धेरै देखिएको छ। बासु क्षितिजले बनाएको कार्टुनमा निर्वाचन आयोगको कार्यालय पृष्ठभुमीमा छ। अनि त्यहाँबाट बदर मतपत्रहरु यत्रतत्र छरिएका छन्। 

पुराना कागज संकलन गर्ने एक व्यक्ति साइकल डोहोर्यारएर त्यहिँ आइपुगेका छन्। अनि उनी भन्छन् – बदर मत … पुराना कागज !


राजधानी दैनिकमा उत्तम नेपालले भने सर्वसाधारणले उम्मेद्वारसँग सोधिरहेको प्रश्न बारे कार्टुन बनाएका छन्। निर्वाचन अगाडि सयौँ योजना सुनाउने उम्मेद्वार मतदान सकिएसँगै योजना नभएका व्यक्तिको रुपमा खडा भएका छन्।
 
कार्टुनमा फाइल बोकेका उम्मेद्वारलाई एक महिला र एक पुरुष सोध्छन् – चुनाप जितेसि के गर्ने रे?

अनि ढका टोपी लगाएका उम्मेद्वार जस्ता देखिने व्यक्ति जवाफ दिन्छन् – हैन यो प्रश्न त भोट हाल्नु अघि पो सोध्नु पर्थ्यो! अब त के गर्छु गर्छु नि … !



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell