
काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा मतदान स्थगित भएका स्थान बाहेक अन्य सवै तहको मतगणना सुरु भएको छ। विभिन्न कारणले पाँच स्थानमा पुनः मतदान गर्नुपर्ने अवस्था छ। पहिलो चरणका २८३ मध्ये दुईमा सर्वसम्मत भएका कारण २८१ तहमा निर्वाचन भएको थियो।
निर्वाचन आयोगका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका, दोलखाको मेलुङ गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, कालिकोटको नरहरिनाथ गाउँपालिका र कालिका गाउँपालिकामा मतपत्र च्यातिएका कारण पहिलो चरणमा निर्वाचन स्थगित भएको थियो। चितवनको कालिकामा मंगलबार मतदान भइसकेको छ । काभ्रेको नमोबुद्धमा आज मतदान भइरहेको छ।
कालिकोटको नरहरिनाथ गाउँपालिकामा झडपमा उम्मेद्वारको नै निधन भएका कारण आइतबार निर्वाचन रोकिएको थियो। आयोगका अनुसार ३४ जिल्लामा भएको मतदानको अहिले २८१ मध्ये २७७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको छ। २७७ मध्ये ३२ स्थानको मतपरिणाम पनि आयोगलाई प्राप्त भइसकेको छ।