
काठमाडौं : पूर्वी काठमाडौंको शंखरापुर नगरपालिकाबाट मेयरमा निर्वाचित सुवर्ण श्रेष्ठले भूकम्पले ध्वस्त भएको ऐतिहासिक साँखु शहर पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। काठमाडौंका १० नगरपालिकामध्येको एक शंखरापुरबाट मेयर पदमा निर्वाचित भएलगत्तै पहिलोपोस्टसँगको कुराकानीमा उनले मतदातालाई धन्यवाद दिए।
'मतदाताले मलाई माया गरेर जिताउनुभयो, सबैभन्दा पहिले उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,' नेवारहरुको पुरानो बस्ती साँखुभन्दा पश्चिममा रहेको इन्द्रायणी गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका सुवर्णले भने, 'भर्खरै बनेको नगरपालिका हो त्यसैले पनि जनताले चाहे बमोजिम हिसाबले म विकासका गतिविधि अगाडि बढाउँछु।'
२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण ऐतिहासिक महत्व बोकेको साँखु तहसनहस अवस्थामा छ। त्यसैलाई पहिलो चरणमा पुनर्निर्माण गर्ने उनको योजना छ। 'पहिलो चरणमा म पुनर्निर्माणको काम अगाडि बढाउँछु,' उनले भने, 'पुनर्निर्माण प्राधिकरण, नेपाल सरकार र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा काम अगाडि बढ्ने छ।'
उनले पुरानो पहिचानसहितको वैभवपूर्ण नगरपालिकाका रुपमा शंखरापुरलाई स्थापित गर्ने दावी गरेका छन्।
नेकपा एमालेको काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्षसमेत रहेका उनी विकासे कार्यकर्ताका रुपमा पनि परिचित छन्। विकाससँगै सहकारी आन्दोलनमा पनि उनको सक्रिय सहभागिता छ।