
काठमाडौं : राष्ट्रिय जनता पार्टीले मधेशमा वातावरण नबनाएसम्म निर्वाचनमा नजाने बताएको छ। मधेशमा शान्तिपूर्णरुपमा निर्वाचन नहुने दावीसमेत पार्टीले गरेको छ।
बुधवार सरकारको प्रमुख घटक नेपाली कांग्रेसका नेताहरुसँग भएको छलफलमा तराईमा निर्वाचनको माहोल नबनिसकेकाले निर्वाचन सम्भव नहुने बताएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै राजपाका नेता राजेन्द्र महतोले संविधान संशोधन र गाउँपालिका र नगरपालिकाको सङ्ख्या नबढाए निर्वाचन नजाने बतए।
नेता महतोले भने, 'संविधान संशोधन र मधेश आन्दोलनमा पक्राउ परेका आफ्ना कार्यकर्ताको मुद्दा सरकारले फिर्ता नलिए हामी निर्वाचनमा जादैनौं।' नेपाली कांग्रेसले भने जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सहभागी हुन राजपालाई आग्रह गरेको छ।
संविधान संशोधनका लागि दुई तिहाइ पुर्यागएर राजपालाई निर्वाचमा सहभागी हुने वातावरण तय गरिने कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। नेता पौडेलले भने, 'हामी निर्वाचनको वातावरण बनाउन तयार छौं। निर्वाचनमा आउन उहाँहरुलाई आग्रह गरेका हौं।' बैठकमा राजपालाई निर्वाचन चिन्ह उपलव्ध गराउने बिषयमा समेत छलफल भएको थियो। कांग्रेसले संविधान संशोधन गर्ने बिषयलाई लिएर बिहीवार राप्रपासँग छलफल गर्ने जनाएको छ।