काठमाडौँ महानगरको उपमेयर पदमा उम्मेद्वारको भन्दा धेरै मत बदर भएको छ। वडा नं २ र वडा नं ३ को गणना जारी रहँदा उम्मेद्वारले प्राप्त गरेको मत भन्दा बदर मत धेरै देखिएको हो।
वडा नं २ मा १२ सय मत गणना गर्दा कांग्रेस उपमेयर उम्मेद्वार हरिप्रभा खड्गी ले २ सय ४९ मत प्राप्त गरेकी छिन्। त्यस्तै राप्रपाका राजाराम श्रेष्ठले १ सय ६५ र साझा पार्टीकी निरुपमा यादवले १ सय २६ मत प्राप्त गरेकी छिन्। तर उपमेयरमा बदर मत भने ४ सय ४९ रहेको छ। अधिकाशं क्रस भोट र सूर्यमा छाप रहेका कारण बदर भएको हो।
त्यस्तै वडा नं ३ मा पनि उम्मेद्वारले प्राप्त गरेको मत भन्दा धेरे मत बदर भएको पाइएको छ। वडा नं ३ मा तीन सय मत गणना गर्दा उपमेयरकी कांग्रेस उम्मेद्वार हरिप्रभा खड्गीले ८७ मत प्राप्त गरेकी छिन् भने राप्रपाले ८९ मत प्राप्त गरेको छ। त्यस्तै साझा पार्टिकी उम्मेद्वारले १० मत ल्याएकी छिन्। तर बदर मत भने ९८ रहेको छ। यो कुनैपनि उम्मेद्वारले प्राप्त गरेको भन्दा धेरै मत हो।
त्यसो त मेयर पदमा पनि धेरै मत बदर भएका छन्। १२ सय मत गणना गर्दा वडा नं २ मा मेयरको मात्र १ सय २६ मत बदर भएको छ। वडा नं २ बाट कांग्रेस मेयरले १ सय ७० मत प्राप्त गरेका छन् भने एमाले मेयर उम्मेद्वारले ४ सय २१ मत ल्याएका छन्। साझा पार्टीका किशोर थापाले १ सय ७१ र विवेकशिलकी रञ्जु दर्शनाले २ सय २ मत ल्याएकी छिन्।
वडा नं ३ मा पनि ३ सय मत गणना गर्दा मेयरमा ११ मत बदर भएको छ। जसमा कांग्रेसका मेयर राजुराज जोशीले ७८ मत ल्याएका छन् भने एमालेका विद्यासुन्दर शाक्यले २६ मत ल्याएका छन्। साझा पार्टीका किशोर थापाले २६ मत प्राप्त गर्दा विवेकशिलकी रञ्जु दर्शनाले वडा नं ३ मा ६ मत ल्याएकी छिन्।