
नवलपरासीः नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी भएका छन्।
उपप्रमुखमा भने नेकपा एमालेकी पार्वती तिवारी ३५९ मत अन्तरले विजयी भएकी छन्।
आठ हजार ५७९ मतसहित प्रमुख पदमा कांग्रेसका श्रेष्ठ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गरेका छन्।
नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचनमध्ये हालसम्म पाँच वटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ ।
जसमध्ये चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् भने मतगणना पूरा भएको देवचुली नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
यसअगावै बुलिटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा कांग्रेस विजयी भइसकेको छ । रासस