PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या २०९ पुग्यो



रासस

यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या २०९ पुग्यो
फोटो श्रोतःhindustantimes.com

सानाः राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २०९ पुगेको र १७ हजार भन्दा बढी बिरामी परेका जनाएको छ। 

युनिसेफको यमनस्थित नियोगले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रुपमा फैलिएको बताएको छ। 

युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई दिएको जानकारी अनुसार यहाँ दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने गरेका छन्। 

यसअघि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी ९आईसीआरसी० ले सोमबार दिएको जानकारीमा अप्रिल २७ देखि आइतबारसम्म १८४ जनाको मृत्यु भएको र करिब ११ हजार व्यक्ति हैजाबाट पीडित भएको जनाएको थियो । 

हैजा पानी र खानाबाट सर्नसक्ने घातक रोग भएकाले समयमा उपचार नभएमा ज्यानै लिने जोखिम रहन्छ। 

सानामा पछिल्लो समय युनिसेफ, आईसीआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लगायतका अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले हैजाको प्रकोप नियन्त्रणका लागि यहाँको सरकार र स्वास्थ्य सङ्घसंस्थालाई सघाउँदै आएका छन्। 

हैजाका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरुमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले सङ्कटकालको घोषणा गरी नियन्त्रण प्रयासलाई थप सशक्त पारेको छ। 

यमनमा सन् २०१७ मा हैजाको प्रकोप दोस्रोपटक देखिएको छ। यमनको द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरुमासमेत आक्रमण भई प्रायजसो संरचना भत्केकाले बिरामीहरुलाई उपचार गर्ने उचित स्थानको समस्या हुने गरेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell