
कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग आइपीएइल-१० को दोस्रो प्लेअफ पक्का गर्दा डिफेण्डिङ च्याम्पियन सनराइजर्स हैदरावाद बाहिरिएको छ।
एलिमिनेटर अन्तर्गत गएराती भएको खेलमा कोलकताले हैदरावादलाई डिएल मेथडमा ७ विकेटले पराजित गरेको हो।
वर्षाले प्रभावित खेलमा कोलकताले ६ ओभरमा पाएको ४८ रनको नयाँ लक्ष्य ३ विकेट गुमाएर पूरा गर्यो।
अब कोलकताले फाइनल प्रवेशका लागि भोली शुक्रबार मुम्बईसँग खेल्नेछ। मुम्बई पहिलो प्लेअफमा राइजिङ पुने सुपरजायन्ट्ससँग पराजित भएको थियो। कोफलकता र मुम्बई बीचको विजेताले फाइनलमा आइतबार पुनेसँग खेल्नेछ।
बैंगलोरमा वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा १२८ रन बनाएको थियो। हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३७ रन बनाए। कोलकताका नाथन कल्टर नाइलले ३ तथा उमेश यादवले २ विकेट लिए।
कोलकताको इनिङ्स सुरु हुने बेलादेखि पानी परेपछि खेल करिब दुई घण्टा भन्दा बढि प्रभावित बनेको थियो।
त्यसपछि कोलकताले जितका लागि ६ ओभरमा ४८ रनको नयाँ लक्ष्य पायो। पहिलो ओभरमै क्रिस लिन (६) र युसुफ पठान (०) तथा दोस्रो ओभरमा रोविन उथापा (१) आउट भएपछि कोलकता सुरुमै दबाबमा परेको थियो। तर कप्तान गौतम गम्भिरले तेस्रो विकेटका लागि इशांक जग्गीसँग नटआउट ३६ रनको साझेदारी गर्दै जित दिलाए। गम्भिरले १९ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट ३२ रन बनाए भने जग्गीले ५ रनको योगदान गरे।
बलिङमा भुवनेश्वर कुमार र क्रस जोर्डनले १-१ विकेट लिएपनि डिफेण्डिङ च्याम्पियन हैदरावादलाई हारबाट जोगाउन सकेनन्।