
म्याग्दीः म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका डमबहादुर पुन गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन्। उनले तीन हजार ३२० मत प्राप्त गरेका छन्भने प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तीन हजार १२७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, रघुगङ्गा गाउँपालिकामा कांग्रेसका भवबहादुर भण्डारी निर्वाचित भएक छन् ।
त्यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भएकी छन् ।
त्यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका श्रीप्रसाद रोका दुई हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् ।
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन विजयी भएकी छन् ।
उनले दुई हजार ४६० मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गरेक छन् । त्यस्तै, मङ्गला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित भएका छन् ।रासस