वालिङः स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी भएका छन् । नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरी गिरी विजयी भएका हुन् ।
गिरीले पाँच हजार ९८९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गरेका थिए।
त्यस्तैगरी, उपप्रमुखमा कांग्रेसकी बिमला श्रेष्ठ विजयी भएकी छन् ।
चापाकोटका १० वटा वडामध्ये सातवटा वडामा कांग्रेसको प्यानल विजयी भएको छ भने तीनवटामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
वडा नं १ मा कांग्रेसका टीकाराम तिवारी, २ मा कांग्रेसकै सूर्यबहादुर सेन, ३ मा कांग्रेसकै सुन्दरविक्रम खाँण, ४ मा कांग्रेसका विक्रम सारु, ५ मा कांग्रेसका इन्द्रबहादुर शाही, ६ मा एकदेव भट्टराई, ७ मा एमालेका रविचन्द्र बस्ताकोटी, ८ मा कांग्रेसका नवराज श्रेष्ठ, ९ मा एमालेका शङ्करभक्त भण्डारी र १० मा एमालेका रामु कोइराला विजयी भएका छन् ।
यसैगरी, स्याङ्जाको गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका भूपराज अधिकारी आठ हजार ३६४ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी लालगोपाल अर्यालले ६ हजार ६२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी देवी थापा आठ हजार ३१४ मत ल्याई विजयी भएकी छन् ।
एघार वटा वडा रहेको गल्याङको वडा नं १ मा एमालेका गणेश बस्याल, २ मा एमालेका ईवप्रसाद कर्माचार्य, ३ मा कांग्रेसका महेश भट्टराई, ४ मा एमालेका नेत्रप्रसाद पाण्डे, ५ मा माओवादीका विष्णुबहादुर क्षेत्री, ६ मा एमालेका टीकाराम भुसाल, ७ मा एमालेका रामबहादुर गुरुङ र ८ मा कांग्रेसका भेकप्रसाद श्रेष्ठ विजयी भएका छन् भने वडा ९ मा कांग्रेसका हरिलाल खनाल, १० मा कांग्रेसका ध्रुवप्रसाद शर्मा र ११ मा एमालेका शंकरदेव अधिकारी विजयी भएका छन् । रासस