
क्यानबेराः विश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा विश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा नागरिकको आयुको औसत लम्बाई मापन सूचीमा अष्ट्रेलिया चौथो स्थानमा उक्लेको जनाइएको छ । यस सूचीको पहिलो दोश्रो र तेश्रो स्थानमा क्रमशः रहेका जापान, सिङ्गापुर र स्विट्जरल्याण्डलाई पछ्या्उँदै चौथो स्थानमा उभिई अष्ट्रेलियाले पनि औसत नागरिक दीर्घ जीवनमा विश्व–नेताको उपाधि हासिल गरेको छ ।
सफा, सुग्घर र प्रदुषणमुक्त नगरहरुमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्वहरुले अष्ट्रेलियाको राष्ट्रिय औसत आयुदर बढाउन टेवा पुर्याएको पनि प्रतिवेदनले औंल्याएको छ।
यद्यपि, समग्रमा सन् २००० देखि २०१५ सम्ममा विश्वभरीकै औसत आयु दर (ग्लोबल लाइफ एक्स्पेक्टेन्सी) मा बृद्धि भैरहेको तथ्य विश्व स्वास्थ्य संगठनका प्रवक्ता डा। कोलिन म्याथर्सले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनलाई बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका एकसय ९४ सदस्य राष्ट्रहरुमाझ गरिएको अनुसन्धान र परीक्षणबाट सो निष्कर्ष निकालिएको थियो । यद्दपि, केही अष्ट्रेलियालीहरु अत्यन्त कडा र निको नहुने खालको दीर्घ रोगको शिकार भएतापनि समग्र राष्ट्रिय औसत आयुदरमा भने अष्ट्रेलियाले विश्वका धेरै मुलुकहरुलाई उछिनेको छ ।
डा। म्याथर्सका अनुसार स्वास्थ्य सम्बन्धी राष्ट्रिय जनजीवनका अन्य प्रमुख क्षेत्रमा पनि अष्ट्रेलियाले अग्रस्थान ओगटेको छ । विश्वभरको गर्भधारण वा सुत्केरी अवस्थामा मातृ मृत्यु दर अष्ट्रेलियामा सबभन्दा न्यून रहेको छ ।
त्यस्तै, धूम्रपानदरः राष्ट्रिय जनसङ्ख्याको करिब १७ प्रतिशत मात्र रहेकाले धूम्रपानकर्ताहरुको विश्व सूचीको अन्तिम क्रमसङ्ख्याबाट गणना गर्दा आठौं स्थानमा रहेको छ । सहरी क्षेत्रमा ब्याप्त प्रदुषणका कणहरुको हिसाबले अष्ट्रेलिया विश्वमा अत्यन्त सफा, सुग्घर राष्ट्रको सूचीको अग्रस्थानमा छ ।
धेरै राष्ट्रिय सुलक्षणहरु बिद्यमान रहेपनि अष्ट्रेलियाली समाजमा केही अँध्यारा पक्षहरु पनि छन् । आत्महत्याका घटनामा विश्वको औसत दरलाई अष्ट्रेलियाले उछिनेको छ । हाल विश्वको औसत आत्महत्यादर करिब १२ जना प्रतिएक लाख रहेकोमा अष्ट्रेलियामा यो भन्दा बढी रहेको र घरेलु हिंसा र सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु दर पनि नघटेको जनाइएको छ। रासस /सिन्ह्वा