
काठमाडौं : नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठनबारे छलफल भएको महामन्त्री शशांक कोइरालाले बताए।
बैठकपछि संचारकर्मीसँगको कुराकानीमा उनले भने, 'प्रचण्डजीले प्रधानमन्त्रीबाट राजीनामा दिनेबित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुन्छ।'
केही दिनमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने कोइरालाले बताए। बैठकमा पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामका विषयमा समेत छलफल भएको थियो। पहिलो चरणको निर्वाचनमाको मतपरिणाम सोचे अनुसार नआएको पार्टीले निष्कर्ष निकालेको छ। महामन्त्री कोइरालाले भने, 'मतगणनाको पहिलो चरणमा रहे पनि प्रारम्भिक रुप हेर्दा त्यति राम्रो, सोचे जस्तो आएन।'
बैठकमा दोस्रो चरणको निर्वाचनमा थप रणनीति बनाएर निर्वाचनमा जाने निर्णयसमेत भएको छ। आज बस्ने व्यवस्थापिका संसदमा संशोधनको प्रस्ताव के गर्ने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय भने हुन सकेन। कांग्रेसले केही दिनदेखि संविधान संशोधन प्रस्ताव र सरकार गठनको विषयमा नेकपा माओवादी केन्द्र र अन्य मधेशी दलहरुसँग छलफल गरिरहेको छ।