PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

७ जिल्लामा सकियो मतगणना, कसले कति स्थानमा जिते?



पहिलोपोस्ट

७ जिल्लामा सकियो मतगणना, कसले कति स्थानमा जिते?

काठमाडौँ : बैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको मतगणना केही जिल्लाहरुमा सकिएको छ। कम मतदाता भएका हिमाली जिल्लाहरुका गणना सकिएको हो। मनाङ, मुस्ताङ, डोल्पा, रसुवाको मतगणना सकिएको छ। त्यस्तै म्याग्दी, रुकुम, जाजरकोटको पनि मतगणना सकिएको छ।


रुकुम : ३ नगरपालिका/ ३ गाउँपालिका : ६ माओवादी केन्द्र

रुकुममा माओवादी केन्द्रले क्लिनस्विप गरेको छ। रुकुमको चौरजहारी गाउँपालिकामा माओवादीका विशाल शर्मा विजयी भएका छन्। त्यस्तै त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्ती, बाँफिकोट गाउँपालिकामा धर्मबहादुर केसी मुसिकोट नगरपालिकामा देवीलाल गौतम र सानीभेरी गाउँपालिकामा नरबहादुर पुन विजयी भएका हुन्। आठबिसकोट नगरपालिकामा भने गोर्खबहादुर केसी विजयी भएका छन्। रुकुममा अन्य कुनैपनि राजनीतिक दलले उपाध्यक्ष र उपमेयर समेत जित्न सकेनन्।

 

जाजरकोट - ३ नगरपालिका/ ४ गाउँपालिका : ३ एमाले/ २ कांग्रेस/२ माओवादी केन्द्र

जाजरकोटका पनि सबै मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३ वटामा एमालेले जीतेको छ भने दुईमा कांग्रेस र दुईमा माओवादी केन्द्र आएका छन्। एमालेले भेरी र छेडागाढ नगरपालिकामा जितेको छ। त्यस्तै शिवालय गाउँपालिकामा पनि एमालेले जितेको हो। भेरीमा सीपी घर्ती, छेडागाढमा लालबहादुर महतरा र शिवालयमा नरेन्द्रकुमार शाही विजयी भएका हुन्।

माओवादी केन्द्रले त्रिवेणी नलगाढ नगरपालिकामा जितेको छ। टेकबहादुर रावलले मेयर पदमा जीत हात पारेका हुन्। त्यस्तै जुनिचुँदा गाउँपालिकामा माओवादी केन्द्रका कृष्णबहुदर केसीले जीत हात पारेका छन्। कांग्रेसले बारेकोट गाउँपालिका र कुसे गाउँपालिकामा जीत हात पारेको हो। बारेकोटमा महेन्द्र शाह विजयी भएका छन् भने कुसेमा हरिशचन्द्र बस्नेतले जीत हात पारेका हुन्।

 


मनाङ – ४ गाउँपालिका : २ कांग्रेस/२ एमाले

मनाङका चार गाउँपालिका मध्ये २ मा नेपाली कांग्रेस विजयी भएको छ भने २ मा एमालेले जीत हात पारेको छ। नशोङ र नारुफुमा कांग्रेसले अध्यक्ष पदमा जीत हात पार्दा चामे र नेस्याङ गाउँपालिकामा एमाले विजयी भएको हो। नशोङमा कांग्रेसका चन्द्र घलेले जीत हात पारे भने नारुफुमा पनि कांग्रेसकै मिङ्मा लामाले जीत हात पारेका हुन्। त्यसैगरि चामेमा एमालेका लोकेन्द्र घले विजयी भए भने नेस्याङमा कान्छा गुरुङले अध्यक्ष पदमा जीत हात पारे।

 

डोल्पा – २ नगरपालिका, ६ गाउँपालिका : ४ एमाले/२ माओवादी केन्द्र / २ स्वतन्त्र 

डोल्पाका आठ स्थानीय तह मध्ये ४ मा एमाले विजयी भयो भने २ मा माओवादी केन्द्रले जीत हात पार्‍यो। एमालेले काइके र शेफोक्सुण्डो गाउँपालिकामा जीत हात पारेको हो। काइकेमा अङ्गत राना र शेफोक्सुण्डोमा टसी टुण्डुप गुरुङ विजयी भएका हुन्। त्यस्तै नगरपालिकामा पनि एमालेले जीतेको छ। ठूलीभेरी नगरपालिकामा गणेशबहादुर शाही र त्रिपुरासुन्दरी नगरपालिकामा ओमबहादुर बुढाले जीत हात पारेका हुन्।

माओवादी केन्द्रले भने जगदुल्ला र मुड्केचुलामा जीत हात पारेको हो। जगदुल्लामा नरसिंह रोकाय र मुड्केचुलामा दत्तबहादुर शाही विजयी भएका हुन्।


अन्य दुई स्थानमा स्वतन्त्र उम्मेद्वार विजयी भए। डोल्पो बुद्ध गाउँपालिकामा तेम्बो गुरुङ र वरेङ गाउँपालिकामा कृष्णप्रसाद गुरुङ स्वतन्त्र उम्मेद्वारको रुपमा विजयी भएका छन्।

 

मुस्ताङ – ५ गाउँपालिका : ३ कांग्रेस/१ एमाले/१ स्वतन्त्र

मुस्ताङका पाँच गाउँपालिकामा ३ मा कांग्रेसले जीत हात पार्दा एमालेले एउटा मात्रै गाउँपालिकामा जीत हात पार्न सक्यो। थासाङ, बाह्रगाउँ मुक्तिक्षेत्र र लोमान्थाङमा कांग्रेसले अध्यक्ष पद जित्यो। अध्यक्षमा क्रमश थासाङमा बुद्धि शेरचन, बाह्रगाउँ मुक्तिक्षेत्रमा फेन्चोक छेप्तेन गुरुङ र लोमान्थाङमा सुवर्णकुमार विष्ट विजयी भए।

एमालेले मुस्ताङको घरपझोङमा मात्र जीत हात पार्‍यो। एमालेका आसबहादुर थकाली अध्यक्ष पदमा विजयी भएका हुन्।

दालोमे गाउँपालिकामा भने स्वतन्त्र उम्मेद्वार राजु विष्ट विजयी भएका छन्।


रसुवा – ५ गाउँपालिका : २ कांग्रेस/ २ एमाले/ १ नयाँ शक्ति

रसुवाका पाँच गाउँपालिकाको पनि निर्वाचनको अन्तिम नतिजा प्राप्त भएको छ। रसुवामा २ गाउँपालिकामा कांग्रेस, २ मा एमाले र १ मा नयाँ शक्ति विजयी भएका छन्।

कालिका गाउँपालिकामा एमालेका सीता पौडेल र गोसाइकुण्ड गाउँपालिकामा कैसाङ नोर्बु तामाङ विजयी भएका हुन्। त्यस्तै कांग्रेसका उपेन्द्रराज लम्सालले उत्तरगया गाउँपालिका र नुर्पु साङ्बो घलेले नौकुण्ड गाउँपालिकामा जीत हात पारेका छन्।
 

नयाँ शक्तिले भने पार्वती कुण्ड गाउँपालिकामा जीत हात पारेको छ। नयाँ शक्तिका भुजुङ तमाङ विजयी भएका हुन्।


म्याग्दी – १ नगरपालिका/५ गाउँपालिका : ४ कांग्रेस/२ एमाले

म्याग्दीको ६ स्थानीय तह मध्ये ४ मा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटामा एमालेले जीत हात पारेको छ।

बेनी नगरपालिकामा कांग्रेसका हरिकुमार श्रेष्ठ विजयी भएका छन्। त्यस्तै अन्नपूर्ण गाउँपालिकामा डमबहादुर गर्वुजा, रघुगंगा गाँउपालिकामा भवबहादुर भण्डारी र मालिका गाउँपालिकामा श्रीप्रसाद रोक्का विजयी भएका छन्।

त्यस्तै एमालेले धवलगिरी गाउँपालिकामा जीत हात पारेको छ। धवलगिरीमा एमालेका थमसरा पुन विजयी भएका हुन्। त्यसैगरी मंगला गाउँपालिकामा पनि एमालेका सतप्रसाद रोका विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell