
बैतडीः बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ। जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट हुन् ।
२०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडाका ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका भट्टलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरेका बताइएको छ।
प्रहरीले ८० वर्षीय भट्टलाई सोमबार मात्रै घरमा आएका बेला पक्राउ गरी जेल चलान गरेको हो। जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्ष कैद सुनाएको थियो।
भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो। जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ। रासस