
काठमाडौं : नेपालको ब्वाइज टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित गर्यो। फाइनलमा स्थान सुरक्षित गरेसंगै नेपाल काजाकिस्तानमा आगामी नोभेम्बरमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा स्थान पक्का गर्न सफल भएको छ।
फाइनल पुग्ने दुई राष्ट्र काजाकिस्तानमा हुने च्याम्पियनसिपलाई छनोट हुने प्रावधान अनुरुप नेपालसँगै ब्वाइजमा बंगलादेश पनि छानिएको छ।
बंगलादेशले अर्को सेमिफाइनलमा भुटानलाई ३–० ले हराउँदै नेपालसंग फाइनल भेट पक्का तय गरेको हो।
पहिलो सिंगल्समा नेपालका आरभसम्राट हाडाले भारतका बालाजी निथिस लथा नल्लुसामीलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै नेपाललाई विजयी सुरवात दिलाए। अर्को सिंगल्समा नेपालका आर्यन गिरी भारतका आयुशमान अर्जेरियासंग ६–१ र ६–० को सोझो सेटमा पराजित भएपछि खेल १–१ को बराबरी स्थितिमा पुगेको थियो।
निर्णायक डबल्समा भने आरभ र आर्यनको जोडीले भारतका आयुशमान र कृषाङ रघुवंशीलाई ७–५ र ६–४ ले निराश पार्दै काजाकिस्तानको टिकट पक्का गरेका थिए।
‘सोचे भन्दा राम्रो नतिजा आएकोमा खुशी छु। भारत बलियो प्रतिद्वन्द्वी हो। त्यैपनि उसलाई (भारत) कडा टक्कर दिनु पर्छ भन्नेमा थियौं। घरेलु कोर्ट र खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित सम्भव भयो।’ नेपाली ब्वाइज टिमका प्रशिक्षक कृष्णराज घलेले भने। फाइनलमा बंगलादेश बलियो प्रतिद्वन्दी भएपनि प्राविधिक पक्षमा नेपाली खेलाडी राम्रो भएको उनले बताए।
आयोजक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले खेलाडीको जित नेपाली लनटेनिसका लागि सुखद दिन भएको बताउँदै फाइनलमा पनि जितका लागि खेलाडीलाई शुभकामना दिइन्।
‘खेलाडीको जितले नेपाली लनटेनिसलाई गर्व तुल्याएको छ। आजको जितले हामी काजाकिस्तानमा हुने यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट भएको छौं।’ अध्यक्ष राणाले भनिन्– ‘अब नम्बर वान भएर छनोट हुने कि नम्बर टु भएर छनोट हुने भन्ने मात्र बाँकी हो। फाइनलमा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरी हामी नम्बर वान हौं भन्ने प्रमाणित गर्न सफल बनुन्।'
गर्ल्सतरफ श्रीलंका र भारत फाइनलमा पुग्दै काजाकिस्तानको यात्रा पक्का गरे। श्रीलंकाले नेपाल तथा भारतले बंगलादेशलाई समान ३–० ले पाखा लगाए नेपालबाट सिंगल्समा सर्भानी श्रेष्ठ र ईशाश्री शाह तथा डबल्समा ईशाश्री र सुभांगीलक्ष्मी शाहले प्रतिस्पर्धा गरेका थिए। तीनै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भए। फाइनल खेलहरु शुक्रबार हुनेछ।