PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

गोरखाका नौ स्थानीय तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी



रासस

गोरखाका नौ स्थानीय तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी

गोरखाः गोरखाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली कांग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् । 

गोरखा नगरपालिकामा कांग्रेस 

गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर कांग्रेसका राजनराज पन्त नगरपालिका प्रमुखमा विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानाले पाँच हजार ६० मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा कांग्रेसकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सम्झना देवकोटाले चार हजार ७०५ मत प्राप्त गरिन् ।
गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा कांग्रेसले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा एमाले ले जितेको छ भने नेकपा माओवादी केन्द्रले ७, ११ र १३ वडामा जित हासिल गरेको छ । 

पालुङटारमा कांग्रेस 

गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा कांग्रेसका दीपकबाबु कँडेल विजयी भएका छन् । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गरे । 

उपप्रमुखमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भइन् । बसेलले चार हजार ४९४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठ चार हजार १९६ मत प्राप्त गरिन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो । 
यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । कांग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो । 

भीमसेनमा कांग्रेस 

गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा कांग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भइन् । कांग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गरेको हो । 

आरुघाटमा कांग्रेस 

आरुघाट गाउँपालिकाको प्रमुखमा कांग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै कल्पना नेपाली तीन हजार ६०९ मत ल्याएर विजयी भइन् भने कांग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो । 

चुमनुब्रीमा कांग्रेस 

उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भइन् । कांग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले कांग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो । 

धार्चेमा कांग्रेस 

धार्चे गाउँपालिकामा कांग्रेसका सन्तबहादुर गुरुङ ९सन्तोष० एक हजार ७०९ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी भइन् । कांग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो । 

अजिरकोटमा कांग्रेस 

अजिरकोट गाउँपालिकामा कांग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी भएका छन् । उपप्रमुखका कांग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भइन् । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई कांग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो । 

सिरानचोकमा कांग्रेस 

सिरानचोक गाउँपालिकामा कांग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी हासिल गरेका छन् । यस्तै, उपप्रमुखमा कांग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याइन् । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई कांग्रेसले हराएको हो । 

गण्डकीमा कांग्रेस 

गण्डकी गाउँपालिकामा कांग्रेसका होमबहादुर राना चार हजार १६४ मतका साथ विजयी भएका छन् । कांग्रेसकी ललिता अधिकारी चार हजार ९७ मतले उपप्रमुखमा विजय भइन्। प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई कांग्रेसले हराएको हो । 

सहिद लखनमा माओवादी 

सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी भएको छ । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी भइन् । कांग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो । 

सुलिकोटमा माओवादी 

गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले विजयी भइन्। कांग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो । 
मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय र्याली निकालेका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell