
काठमाडौँ : ३४ जिल्लाको २८१ स्थानीय तहमा भएको पहिलो चरण निर्वाचनको मतपरिणामा आइरहदा निर्वाचन आयोग भने जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनके तयारीमा जुटेको छ। निर्वाचन आयोगले दोस्रो चरणमा हुने निर्वाचनका लागि शनिबारदेखि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी पूरा भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उनले भने 'मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक तयारी पूरा भइसकेको छ। भोलिदेखि कार्यालय खुल्छन्।'
आयोगले निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु मसीदेखि सियोसम्मका ६४ प्रकारका सामाग्री जिल्लामा पठाइसकेको छ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ। जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ। आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यसअघि नै तोकिएको छ। सोही जिम्मेवारी अनुसार कार्यसम्पादन हुनेछ।