बागलुङः बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनक पौडेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी भएका छन्।
पौडेलले ११ एक हजार ६१४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका छन् ।
यस्तै, एमाले–राप्रपा–राजमो गठबन्धनबाट उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । खड्काले १० हजार ५२२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी शकुन्तला शर्माले आठ हजार ७३४ मत प्राप्त गरेकी छन् ।
बागलुङ नगरपालिकामा एमाले–राप्रपा–राजमो गठबन्ध ११ वटा वडामा विजयी बनेको छ। नेपाली कांग्रेसले भने वडा नं ११, १३ र १४ मा मात्र जित हासिल गरेको छ।
जैमिनी नगरपालिकामा नेपाली कांग्रेस विजयी बनेको छ । पाँच हजार ३५६ मत ल्याएर नेपाली कांग्रेसका इन्द्रराज पौडेल प्रमुखमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले पाँच हजार २५० मत प्राप्त गरेका छन्।
उपप्रमुखमा भने नेकपा एमालेका लीला राना विजयी भएकी छन् । उनले चार हजार ७४० मत प्राप्त गरिन्।
जैमिनी नगरपालिकाको परिणामसँगै बागलुङका सबै स्थानीय तहको मतगणना सकिएको छ ।
नेपाली कांग्रेस जैमिनीसहित गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विजय हासिल गरेको छ । नेकपा एमालेले बागलुङ नगरपालिका, बुर्तिबाङ नगरपालिका, काठेखोला गाउँपालिका र बडीगाड गाउँपालिकामा जितेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले ताराखोला गाउँपालिका र राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिकामा विजयी हासिल गरेको छ।
नेपाली कांग्रेसले चार उपप्रमुख, एमालेले दुई उपप्रमुख, राष्ट्रिय जनमोर्चाले दुई, माओवादी केन्द्रले एक र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपप्रमुख पद जितेको छ । रासस