
नुवाकोटः नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामा चार हजार ५३४ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेश लामा तीन हजार ५९१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामा चार हजार १३३ मत प्राप्त गरी विजयी भइन्।
ककनीमा ८ वडा रहेकामा चार वडा अध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा कांग्रेस विजयी भएको छ ।
ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नं २ मा नेकपा माओवादी केन्द्रका केदार पौडेल, ३ मा माओवादी केन्द्रका घननाथ बजगाईं, ४ मा माओवादी केन्द्रका दिपेश तामाङ, ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, ६ मा कांग्रेसका गोपाल लामा, ७ मा एमालेका पुष्कर बोगटी र ८ मा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी भएका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित छवटा वडाको वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा कांग्रेसका रामकृष्ण थापा तीन हजार ८१८ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका मञ्जु केसी तीन हजार ६७६ मत प्राप्त गरी विजयी भइन् ।
शिवपुरीमा आठवटा वडा रहेकामा छवटा वडामा कांग्रेस र दुईवटा वडामा एमाले विजयी भएको छ । वडा नं १ मा कांग्रेसका महेन्द्रराज खत्री, वडा नं २ मा कांग्रेसका रुद्रबहादुर गुरुङ, वडा नं ३ मा कांग्रेसकै रामहरि थापा, वडा नं ४ मा कांग्रेसकै झमकराज गुरुङ, वडा नं ५ मा एमालेका सीताराम थापा, वडा नं ६ मा कांग्रेसका लालबहादुर तामाङ, वडा नं ७ मा कांग्रेसका माधवप्रसाद भेटवाल र वडा नं ८ मा एमालेका पदमबहादुर थपलिया वडाध्यक्षमा निर्वाचित भएका छन् । रासस